आदिकवि भानुभक्त क्याम्पसकाे आयाेजनामा बन्दीपुरमा गुणस्तर सुनिश्चितता सम्बन्धि एक दिने गाेष्ठी !

आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा गुणस्तर सुनिश्चितता समिति सबलीकरण सम्बन्धी एक दिने गोष्ठी आइतबार बन्दीपुरमा सम्पन्न भएको छ।

गोष्ठीको कार्यक्रमका प्रमुख अतिथि व्यास नगरपालिकाका प्रमुख एवं नेपाल पब्लिक क्याम्पस सङ्घका पूर्व केन्द्रीय अध्यक्ष बैकुण्ठ न्यौपानेले उद्घाटन गर्दै सामुदायिक क्याम्पसहरूमा छुद्र राजनीतिलाई प्रवेश दिन नहुने र क्याम्पसको भौतिक , शैक्षिक , आर्थिक गुणस्तरका लागि सञ्चालक समिति र प्राध्यापकहरुले निरन्तर प्रयास जारी राख्नुपर्ने बताए । विद्यार्थी पलायन र आर्थिक स्रोतको सिमितता जस्ता संकटहरूबाट गुज्रिरहेका सामुदायिक क्याम्पसहरूले अभिभावक र विद्यार्थीहरूको विश्वास जित्नका लागि युग सुहाउँदो प्रविधि , शिक्षण विधि र सोध तथा अनुसन्धानलाई महत्व दिएर कार्यक्रमहरू अगाडि बढाउनुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा बन्दीपुर गाउँ पालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले सामुदायिक क्याम्पसहरूले आपसमा सहकार्य गर्ने वातावरण निर्माण गर्न र आर्थिक स्रोत परिचालन गर्नका लागि क्याम्पसका सरोकारवालाहरूको विश्वास जित्ने कार्यक्रमहरू अगाडि ल्याउनुपर्ने बताए ।
कार्यक्रममा नेपाल पब्लिक क्याम्पस संघका पूर्व केन्द्रीय अध्यक्ष एवं जनमैत्री क्याम्पसका क्याम्पस प्रमुख भोलानाथ ओझा , आदिकवि भानुभक्त क्याम्पसका सञ्चालक समिति अध्यक्ष बुद्धिमान श्रेष्ठ , स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष गौरव पन्थ ,
विश्वविद्यालय अनुदान आयोग क्युए डिभिजनका उपनिर्देशक नारायण प्रसाद भण्डारी , त्रिभुवन विश्वविद्यालयका प्रा डा प्रदिपचन्द्र गौतम , आदिकवि भानुभक्त क्याम्पसका क्याम्पस प्रमुख महाप्रसाद हडखले , सहायक क्याम्पस प्रमुख सागर पौडेल , क्याम्पस आइक्युएसी प्रमुख विशेश्वर तिमल्सेना लगायतले गाेष्ठिमा भाग लिँदै आफ्ना भनाइहरू राखेका थिए ।
उक्त कार्यशालामा विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्याययन (QAA Certificate) प्राप्त गरिसकेका र आदिकवि भानुभक्त क्याम्पससँग सस्थागत सहकार्यको सम्झौता (Memorandum of Understanding/MoU) गरेका ९ वटा समेत गरी जम्मा १३ वटा सामुदायिक क्याम्पस हरुको सहभागीता रहेकाे थियो ।
























