औषधिको गोलीले होइन मान्छेको बोलीले राेग सन्चो बनाउने रजहरकाे प्राकृतिक चिकित्सालय:

हजुर ! नमस्ते ! अहिले कस्तो छ हजुरलाई ? बेलुकाकाे राउन्डमा बिरामीको काेठामा पुगेर दैनिक यस्तै शब्दले साेध्ने गर्दछन् चिकित्सकले ।

डाक्टर आउनुभयाे भनेर बिरामी हत्तपत्त उठ्न खाेज्छन , तर डाक्टरले राेक्दै सके बिस्तारै उठ्नुहाेस् , नत्र त्यहीँ आराम गर्नुहाेस् भन्दै ढाड दुखेको , नशाकाे समस्या भएको बिरामीले जरकमरक गर्न हुँदैन भनी सम्झाउँदै उपचार पुस्तिका समाउँछन् । कस्तो छ आज ? हिजो भन्दा केही सुधार , घटबढ के छ ? डाक्टरले निकै सरल र मिठासपुर्ण भाषामा साेध्छन् । बिरामीको अवस्था सुनिसकेपछि भाेलिपल्टकाे उपचार बिधि लेख्दै कत्ति पनि नआत्तिनुस है , कसैलाई ढिला हुन्छ , कसैलाई चाडैं हुन्छ भनेर सम्झाउछन् , आस्वस्त पार्छन् बिस्वास दिलाउँछन् र नमस्ते ल अहिले निस्कन्छु शुभरात्रि भनी फर्किन्छन् । याे मधुर बाेलि बचन र व्यवहारले बिरामीले आफ्नाे दुखाइ र पिडा बाट धेरै राहत महसुस गर्दछ ।

बिहानकाे तालिकाअनुसार बिरामी उठेर मह , कागती पानि खाइसकेपछि जमरा , दुवाे , लाैका मध्येको कुनै जुस खाइ उपचारमा जान तयार हुन्छ । उपचारकाे लागि जाँदै गर्दा कुनकुन काेठामा केके उपचार हुन्छ भन्ने बिरामीलाई थाहा हुँदैन । डाक्टरले केके उपचार गर्ने भनेर लेखेको छ , त्यो पनि नयाँ बिरामीलाई थाहा हुँदैन । तर त्यहाँका स्टाफहरूले यति मिठो व्यवहार , यति राम्रो सालिनता देखाउँछनकि अब तपाई यहाँ जानुस् भनेर सक्नेलाइ देखाउँदै र नसक्नेलाई हातमा डाेर्याउँदै उपचार कक्षमा पुुर्याउँछन् । कर्मचारीहरूकाे मेहेनत , लगनशीलता र व्यवहारले बिरामीले त्यहाँ पनि दुखाइ भुलेकाे महशुस गर्दछ । उनिहरूले दिने सेवा र मिठो बाेलिले बिरामी सन्तोषका साथ उपचार सकेर काेठामा फर्कन्छ ।
त्यसपछि १० बजे बिरामीको खाना खाने समय हुन्छ । बिरामी मेसमा पुगेर बस्नासाथ त्यहाँका स्टाफ दिदिबहिनीहरू साेध्न पुग्दछन् । हजुरलाइ सुगर , थाइराइड केही छ कि ? डाक्टरले के खाने भन्नुभएको छ ? मन जित्ने शैलीमा सिस्टरले साेध्छन् । सबै बुझेपछि खानेकुरा आउँछ । बिरामी अनकनाउँछ , याे खान्न , तरकारी फिर्ता गर्नु यस्तै भन्छ । तर त्यहाँका स्टाफ दिदिबहिनीले यहाँको अाैसधि नैं यही तरकारी हाे , याे त खानुपर्छ भनी सम्झाउँछन्। यत्तिकैमा बुझ्नेले खान थाल्छन् । तर काेहिले अझै पनि चित्त नबुझाए पछि बरू अन्न कम गराउनु तर तरकारी ,साग हरू त खानैपर्छ भनेर थप बुझाउँछन् ।

यतिमात्र हाेइन चिकित्सालयकाे कम्पाउन्ड भित्र पसेपछि यहाँ तलदेखि माथि सम्मका सबैकाे बाेलि बचन र व्यवहार अत्यन्तै मन जित्ने खालको सरल छ । कार्यालय सहयोगी देखि सेक्युरिटी अनि स्वास्थ्यकर्मी देखि प्रशासनिक क्षेत्रका मानिसको बाेलिमा अत्यन्तै अनुशासन पाइन्छ । चिकित्सालयकाे बेलुका खानामा दुई थरी तरकारी, रोटी, दलिया वा भात, अचार र सलाद पाइन्छ । बिहान १० बजेको खानामा दाल र साग थप हुने रहेछ । दुध खान मिल्नेका लागि बिहान बेलुका त्यहीं पालिएका गाईको दुध पाइन्छ । एक छाक खानाको लागि करिब सय रुपियाँको कुपनले पुग्ने रहेछ ।
अर्घाखाँचीबाट उपचार गर्न आएका मनाेज बर्स्याैला यहाँका स्टाफहरूकाे बाेलि र व्यवहारले आधा रोग निको बनेकाे महशुस गरेको बताउँछन् ।खाना खान गयो तेल मसला नराखेको खाना हुन्छ , कसरी खानेहाेला जस्तो हुन्छ , तर त्यहाँका दिदिबहिनीकाे बाेलि र व्यवहार अनि बिरामी सँग गर्ने शैलीले नुन मसला सबै लागेको महशुस हुन्छ , उनी भन्छन् । सबै स्टाफहरूकाे बाेली र व्यवहार असल पाएपछि बिरामीहरू लाई लाग्छ यहाँ त औषधिको गोलीले होइन मान्छेको बोलीले पनि राेग सन्चो हुने ठाउँ रहेछ । रजहरमा साच्चिकै डाक्टर , व्यवस्थापक , स्टाफ कर्मचारीकाे बाेलिले मात्रै हाेइन यहाँको प्राकृतिक वातावरण , सरसफाइ र सुन्दरता सँगैकाे हरियालीले पनि मन जित्ने खालको छ । लाग्छ चिकित्सालय भित्र पसेपछि यहाँको वातावरणले नैँ बिरामीको दुखाइ कम हुन्छ ।
चिकित्सालयमा आउने हरेक बिरामीले व्यायामको कमीका कारण लाग्ने राेगकाे बारेमा , खराब जीवनशैलीले निम्त्याउने राेगकाे बारेमा थाहा पाएर जान्छन्। त्यस्तै के खाने ? कति खाने ? कसरी खाने ? तनावमुक्त जीवन कसरी जिउने ? छोटो समयमा शारीरिक र मानिसक रूपमा कसरी आराम गर्ने ? उमेर समयअनुसार व्यायाम वा योगको अभ्यास, स्वस्थ रहनका लागि अपनाउनुपर्ने अत्यावश्यक जीवनशैलीको कुरा सिकाउँछ । यसले पनि चिकित्सालय भन्दा पनि जीवनशैली सिकाउने पाठशालाको रूपमा पंक्तिकारले यहाँको उपचार पद्धति तथा अन्य वातावरणलाई लिएको छ । धेरै अस्पतालमा डुलेर निराश बनेर आउने बिरामीलाई सुरुमा नै निको हुने हौसला दिइने यहाँको अर्को महत्त्वपूर्ण विशेषता रहेछ ।
प्राकृतिक उपचारतर्फ निर्देशक डा. विनोद पौडेल र सहायक निर्देशक डा. आजाद पुरीले र फिजियो थेरापीतर्फ डा. सागर खनालले हेर्नुहुने रहेछ भने व्यवस्थापकमा हरि सापकोटा हुनुहुन्छ ।
यहाँ उपचारका लागि पेटमा नर्मल माटोपट्टी, आँखापट्टी, एनिमा, पोटली र तातो पानीमा खुट्टा डुबाउने , कम्मरमा तातो माटोसेक, हटवाटर ब्यागले ढाडसेक र कम्मरमा स्टिमसेकका लागि उपचार हुने गर्दछ ।
बिरामीलाई सुरुमै उपचारपद्धति पत्यारै नलाग्ने खालको देखिन्छ । लगभग सबै प्रकारका बिरामीको लागि उस्तै उस्तै प्रकारको उपचार पद्धति हुन्छ । थप उपचारमा पूर्ण शरीर मालिस, कमरपट्टी, पाउडर मसाज , भाइभर मसाज , स्टिम बाथ र फिजियोथेरापीको उपचार हुनेरहेछ ।
विशेषत: पञ्चतत्त्व (पृथ्वी, जल, वायु, अग्नि र आकाश) ले उपचार गर्ने पद्धतिलाई नै प्राकृतिक उपचार पद्धति भनिँदो रहेछ । रोगको कारण शरीरमा फोहोर जम्मा भएर हो , फोहोर सफा गर्न सबैका लागि एकै प्रकारको उपचार पद्धतिले मदत गर्दछ भन्ने विश्वास गरिँदो रहेछ । टाउको दुख्ने (माइग्रेन), पिनास , शरिरको कुनैपनि दुखाई , डिप्रेसन , टन्सीलाइटिस , मोटोपन , मधुमेह , एलर्जी , कोलाइटिस , पेटको अल्सर , कब्जीयत , मृगौला सम्बन्धि समस्या ,महिला सम्बन्धि समस्या ,छाला सम्बन्धि सम्पूर्ण समस्या , थाइराइड सम्बन्धि समस्या , सवै प्रकारका बाथ ,मुटुको ब्लकेज ,पायल्स , पुरुषग्रन्थी बढ्नु (प्रोष्टोमगाली) ,दम , ढाड कम्मर दुखेको , नशा च्यापिएको , जन्डिस ,कलेजोमा बोसो जमेको , पत्थरी , उच्च एवं निम्न रक्तचाप लगायतकाे उपचार हुने रहेछ ।
प्राकृतिक उपचारमा आउने महिला र पुरुषका लागि यहाँ छुट्टाछुट्टै उपचार कक्ष रहेका छन् । उपचार कक्षमा ठुलो कराहीमा माटो पकाइरहेको, किटलीमा पानी उम्लिरहेको, माटोको कराहीमा थोरै तेल राखेर एउटा कपडाको टालोमा विभिन्न जडिबुटी राखेको पोको सेकाइरहेको देख्न सकिन्छ । त्यही चिजहरू बाट नैँ यहाँ दैनिक उपचार हुने रहेछ । माेटाेपना घटाउन , ग्यास्ट्रिक निर्मुल पार्न मात्रै हाेइन यहाँ राेग नैँ नलाग्दै शरीर सर्भिसिङ गर्न आउनेहरूकाे पनि उल्लेख्य संख्या रहेको छ । चिकित्सालयले विशेष गरी औषधीय उपचार सेवाबाट सञ्चो हुन नसकेका बिरामीलाई प्राकृतिक चिकित्सा र योग पद्धतिमार्फत उपचार सेवा प्रदान गर्दै आएकाे रहेछ । हाल यस चिकित्सालयमा दैनिक १०० बिरामीलाई आवासीय रुपमा उपचार सेवा दिनसक्ने व्यवस्था रहेछ ।
बिरामीका लागि दूधका लागि गौपालन , माैरिपालन , अर्गानिक तरकारी र जडीबुटी खेती चिकित्सालयले नै गरेको रहेछ । विसं २०६३ मा स्थापना भइ २०६४ बाट उपचार सेवा प्रारम्भ गरेको चिकित्सालयमा देशका विभिन्न स्थानबाट र छिमेकी देश विदेश समेत बाट उपचार सेवा लिन आउने गरेका रहेछन्।
दश बिघा क्षेत्रफलमा फैलिएको यस चिकित्सालयलाई ३०० श्ययाको बनाउने र यस विधाको मेडिकल कलेज स्थापना गरी प्राज्ञिक जनशक्ति उत्पादन गर्ने योजना चिकित्सालयले लिएको रहेछ ।
लेखक – म्याग्दे अनलाइनका कार्यकारी सम्पादक बिकास खनाल ( हाल चिकित्सालयमा उपचाररत हुनुहुन्छ )।



































