बन्दीपुरमा आज दाहाल आउने

बन्दीपुरमा आज दाहाल आउने

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल आज तनहुँकाे बन्दीपुर आउने भएका छन् । पहाडकी रानी उपनामले परिचित पर्यटकीय नगरी बन्दीपुरमा आयोजना गरिएको बन्दीपुर भ्रमण वर्ष २०२५ को उद्घाटनकाे लागि मन्त्री दाहाल बन्दीपुर आउने भएका हुन् । दिउँसो १२ बजे अंग्रेजी नयाँ वर्षको अवसर पारेर उद्घाटन हुने कार्यक्रममा मन्त्री दाहालकाे प्रमुख आतिथ्यता रहनेछ ।
बन्दीपुर गाउँपालिकाले पर्यटन प्रवर्द्धन, गन्तव्यको पहिचान र आर्थिक गतिविधिलाई चलायमान बनाउने लक्ष्यका साथ सन् २०२५ लाई भ्रमण वर्षका रुपमा मनाउन लागिएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले जानकारी दिए । प्राकृतिक एवं सांस्कृतिक सम्पदाको संरक्षण र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भ्रमण वर्ष मनाउन लागिएको अध्यक्ष थापाले बताए ।


भ्रमण वर्ष सफल पार्न गाउँपालिकाले पर्यटन व्यवसायी वैश गुरुङको संयोजकत्वमा २१ सदस्यीय भ्रमण वर्ष सचिवालय गठन गरेको छ । सचिवालय संयोजक वैश गुरुङका अनुसार भ्रमण वर्षमार्फत स्वदेश तथा विदेशमा बन्दीपुरको पर्यटन प्रवर्द्धन गरी पर्यटकको सङ्ख्या दोब्बर बनाउने योजना छ ।
“भ्रमण वर्षमा वार्षिक एक लाख आन्तरिक र एक लाख विदेशी पर्यटक ल्याउने योजना बनाएका छौँ”, “भ्रमण वर्षलाई आधार वर्ष मानेर आगामी तीन वर्षमा वार्षिक आठ लाख पर्यटक बन्दीपुर पुर्‍याउने लक्ष्य रहेको गुरूङले बताए ।
गुरुङका अनुसार भ्रमण वर्षमा पर्यटकको औसत बसाई तीन दिन बनाइनेछ । साथै विदेशी पर्यटकको दैनिक औसत खर्च ७५ अमेरिकी डलर र नेपाली पर्यटकको औसत खर्च दैनिक रु तीन हजार पुर्‍याइनेछ ।
हाल बन्दीपुरमा मात्रै ७५ होटल र चार वटा होमस्टे ९घरबासका साथै समग्र गाउँपालिकामा एक सय २० होटल र १२ वटा होमस्टे सञ्चालनमा छन् । जसमा दैनिक एक हजार सात सय पर्यटक अट्ने क्षमता रहेको पर्यटन व्यवसायी गुरुङले बताए । 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page