प्रथम भानु महाेत्सवमा काेदाेकाे म:म मा आकर्षण

तनहुँकाे भानुमा पाैष ९ गते मंगलबारदेखि सुरु भएको प्रथम भानु नगर महोत्सवमा काेदाेकाे म:म मा आकर्षण बढेको छ । महाेत्सवकाे स्टल रहेको हाेटल लाइनमा अर्गानिक काेदाेकाे म: म खाने ग्राहकको संख्या दिनदिनै बढ्दै गएको छ । स्थानीय कृषि उत्पादनलाई प्राथमिकता दिएको महाेत्सवमा काेदाेकाे म:म ले ग्राहकको मन जितेपछि आयाेजक तथा स्थानीय कृषकहरू खुसी भएका छन् ।

भानु नगर उद्योग वाणिज्य संघको आयोजना तथा भानु नगरपालिकाको प्रबद्र्धकमा ‘कला, साहित्य शिक्षा र पर्यटन कृषि व्यापार उद्योग भानुको पहिचान’ भन्ने मूल नाराका साथ महोत्सव सञ्चालन भइरहेको छ । महोत्सवले नेपाली साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मथलोको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास आयोजकले लिएको छ । महोत्सवले भानुको जन्मथलो चुँदी रम्घाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने भानु नगर उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सवका संयोजक कृष्णकुमार श्रेष्ठले बताए । भानु नगरपालिका क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको उनले जानकारी दिए । महोत्सवमा साना तथा घरेलु उत्पादनहरुलाई विशेष प्राथमिकता दिइएकाे समेत संयोजक श्रेष्ठले बताए ।
भानु नगर उद्योग वाणिज्य संघका महासचिब कृष्ण कोईरालाले महोत्सवमा कृषि प्रदर्शनी, सांस्कृतिक प्रदर्शनी, औद्योगिक लगायतका प्रदर्शनीका लागि १ सय २० वटा स्टलहरु रहेको जानकारी दिए । उनका अनुसार एक लाख भन्दा बढी पर्यटकले महोत्सव अवलोकन गर्ने अनुमान गरिएको छ । यस्ता मेला महोत्सवले स्थानीयस्तरमा उत्पादित कृषि उपज र स्थानीय कलाकारको कला संरक्षणमा सहयोग पुग्नुका साथै आर्थिक कारोवारमा चहलपहल हुने भानुका नगरप्रमुख आनन्द त्रिपाठीले बताए ।
आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदीरम्घालाई भाषिकधामको रुपमा विकास गर्न नगरपालिकाले पहलकदमी गर्दै आएको त्रिपाठीले बताए । महोत्सवबाट भएको आम्दानीले नगर उद्योग वाणिज्य संघको अधूरो भवन निर्माणमा खर्च गरिने बताइएको छ ।

























