बन्दीपुरमा हुने नयाँ वर्ष महाेत्सव सफल बनाउन दमाैलीमा पत्रकार सम्मेलन
नयाँ वर्ष २०८२ को अवसर पारेर पर्यटकीय नगरी बन्दीपुरमा चार दिने मौलिक रैथाने खाना महोत्सव हुने भएको छ। ‘बन्दीपुर भ्रमण वर्ष २०२५’ को सन्दर्भमा यही चैत ३० गतेदेखि वैशाख २ गतेसम्म १२ औं मौलिक रैथाने खाना महोत्सव आयाेजना हुने भएको हो ।

बन्दीपुर भ्रमण वर्ष २०२५ सचिवालयले आज दमौलीमा पत्रकार सम्मेलनकाे आयाेजना गर्दै महोत्सवका विविध कार्यक्रमहरूको बारेमा जानकारी गराएको हो।

पत्रकार सम्मेलनमा बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र थापाले महोत्सवको उद्देश्य स्थानीय रैथाने खाना, परम्परागत कला र संस्कृति उजागर गर्नु रहेको बताए। “नयाँ वर्षको सुरुवात स्थानीय मौलिकतासँगै उल्लासपूर्वक गर्न महोत्सव आयोजना गरिएको अध्यक्ष थापाको भनाइ थियो ।
महोत्सवको पहिलो दिन विभिन्न रैथाने परिकारहरूको स्वाद लिन पाइनेछ भने सांस्कृतिक कार्यक्रमहरू मार्फत आगन्तुकहरूलाई मनोरञ्जन दिइनेछ। चैत ३१ गते गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले नयाँ वर्ष कार्यक्रमको औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ।
सोही दिन विद्यालय स्तरका बालबालिकाबीच नृत्य प्रतियोगिता गरिने छ जसले बालबालिकाको प्रतिभा उजागर गर्न सहयोग पुर्याउनेछ। साथै, महोत्सवभरि बन्दीपुरका रैथाने कला, झाँकी, भेषभूषा तथा सांस्कृतिक प्रस्तुति पनि देखाइनेछ।
बैशाख १ र २ गते पर्यटकलाई बन्दीपुर आसपासका अन्य आकर्षक गन्तव्यमा लैजाने कार्यक्रम समेत समावेश गरिएको बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक बैँस गुरुङले बताए । महोत्सवले पर्यटन प्रवर्द्धनसँगै स्थानीय समुदायको आर्थिक उपार्जनमा समेत टेवा पुर्याउने भन्दै गुरूङले “महोत्सवले बन्दीपुरको मौलिकपनलाई समेट्दै यहाँको पर्यटनलाई थप मजबुत बनाउने बताए ।
कार्यक्रममा पर्यटनविद् हरिसिं गुरुङले महोत्सव मौलिकता झल्काउने खालको हुने बताए । “शान्त वातावरण र मौलिक संस्कृतिमा रमाउन चाहने पर्यटकलाई लक्षित गर्दै कार्यक्रम तयार पारिएको भन्दै उनलेे भ्रमण बर्ष सफल बनाउन स्थानीय कला संस्कृति, खाना र पुरातात्त्विक महत्वका ठाउँहरु उजागर गर्ने, बन्दीपुरका आकर्षणलाई थप सुधार गरि होटल तथा अन्य व्यवसाय प्रवर्द्धन गर्ने, पर्यटकीय पुर्वाधार सुधार गर्ने, पर्यटन जनशक्ति बिकास गर्ने, विभिन्न चरणमा प्रचारप्रसार गर्ने, पुरातात्त्विक सम्पदा सुधार गर्ने वातावरणीय परिस्थितिमा सुधार ल्याउने र स्थानीय सम्पदा अभिलेखिकरण लगायतका योजना बनाइ कार्यान्वयनको चरणमा अघि बढाइने जानकारी दिए ।
बन्दीपुर भ्रमण वर्ष २०२५ का प्रचारप्रसार संयोजक राजु बानियाँले हर्षोल्लासपूर्ण वातावरणमा नयाँ वर्षको स्वागत गर्न महोत्सव निरन्तर आयोजना हुँदै आएको बताए। उनले कलाकारहरूको प्रस्तुति र स्थानीय संस्कृतिको प्रवर्द्धनमा महोत्सव विशेष हुने बताए।
नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष धनपति अधिकारी डिपीले बन्दीपुर पर्यटन प्रवर्द्धनमा महासंघको सक्रिय सहयोग रहने प्रतिवद्धता जनाए।
चार दिनसम्म चल्ने यो महोत्सवले नयाँ वर्षलाई सांस्कृतिक उत्सवको रूपमा स्थापित गर्दै बन्दीपुरको पर्यटनलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ।
























