भानुमा समुदाय विपद् स्वयंसेवक तालिम
भानु नगरपालिका र सशस्त्र प्रहरी बल, नेपाल नं. २३ गण हे.क्वा. मनकामना, तनहुँ को संयुक्त आयोजनामा जेठ ११ गतेदेखि २८ गतेसम्म “समुदाय विपद् स्वयंसेवक तालिम” सुरुवात भएको छ। विपद् व्यवस्थापन तथा उद्धार कार्यमा समुदायस्तरमै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको यो तालिममा नगरसभा सदस्य , विभिन्न टोल विकासका प्रतिनिधि, आमा समुहका प्रतिनिधि,कर्मचारी, सुरक्षाकर्मी, पत्रकार लगाएतको सहभागिता रहेको छ।

तालिमको उद्घाटन गर्नु हुँदै भानु नगरपालिकाका प्रमुख श्री आनन्द राज त्रिपाठीले समुदायस्तरमै विपद् प्रतिकार्यको क्षमतामा वृद्धि गर्नु आवश्यक रहेको बताउँदै यस्तो तालिमले व्यवहारिक ज्ञान र आत्मविश्वास दुवै बढाउने बताए ।
तालिम अवधिभर प्रशिक्षार्थीहरूलाई विपद्को जोखिम मूल्यांकन, उद्धार प्रविधि, प्राथमिक उपचार, सर्च एण्ड रेस्क्यु, र जल उद्धार (Water Rescue) लगायतका विषयहरूमा तालिम दिइनेछ। सशस्त्र प्रहरी बलका अनुभवी प्रशिक्षकहरूले प्रशिक्षण प्रदान गरेका छन् ।
यस प्रकारको तालिमले विपद् व्यवस्थापनमा समुदायको सक्रिय सहभागिता र तत्परता सुनिश्चित गर्ने विश्वास लिइएको छ। कार्यक्रममा भानु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गाैतम भण्डारी , सशस्त्र प्रहरी बल भानुका एसपी अशोक लम्साल लगायतको सहभागीता रहेको छ ।

























