भिमादका दलित महिलाहरुलाई नेतृत्व विकास सम्बन्धी पुनर्ताजगी तालिम

भिमाद नगरपालिकाको आयोजना तथा आर्थिक वर्ष २०८१/८२ को बजेट अन्तर्गत दलित महिलाहरूको सशक्तीकरण र क्षमता विकासलाई लक्षित गर्दै नेतृत्व विकास सम्बन्धी तीन दिने पुनर्ताजगी तालिम सम्पन्न भएको छ। नगरपालिकाको सभा हलमा असार १ गते देखि सुरु भएको तालिमको असार ३ गते समापन भएको हो।

तालिम समापन कार्यक्रममा बोल्दै उपप्रमुख शारदा खनालले तालिम पूर्व र पश्चात महिलाहरूको आत्मविश्वास तथा क्षमतामा देखिएको विकासको अनुभव सुनाउँदै यस्ता तालिमहरूले सामाजिक रुपान्तरणमा सकारात्मक भूमिका खेल्ने धारणा राखिन्। उनले महिलाहरूलाई शैक्षिक, राजनैतिक, आर्थिक र सामाजिक क्षेत्रमा अग्रसर हुन विशेष जोड दिइन्।

उपप्रमुख खनालले ९ वटै वडाबाट सहभागी ३० जना महिलाहरूलाई प्रमाणपत्र वितरण गरेकी हुन्। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद पुन, वडा नं. ६ का अध्यक्ष श्यामसुन्दर जोशी, वडा नं. ७ का अध्यक्ष प्रकाश श्रेष्ठ, कार्यपालिका सदस्य इन्दिरा खड्का, पूर्व कार्यपालिका सदस्य डिना गोतामे लगायतले मन्तव्य राखेका थिए।
तालिमका सहजकर्ता पत्रकार अन्जान परियारले महिलाहरू लाई सशक्त बनाउन, क्षमता अभिवृद्धि, व्यक्तित्व विकास गर्दै वर्गीय अधिकारबारे सचेत गराउन सिकाएका थिए।
सहभागीहरू मध्ये ऐती माया परियार र मिना नेपालीले तालिमबाट आत्मविश्वास बढेको, डर र लाज हटेर सामाजिक क्षेत्रमा सक्रिय हुन सक्ने आत्मबल आएको अनुभव सुनाए। यस्तो महत्वपूर्ण तालिममा सहभागी हुन पाएकोमा नगरपालिका र प्रशिक्षक प्रति आभार व्यक्त गरे।
कार्यक्रमको सञ्चालन नगरपालिकाकी सूचना अधिकारी टेकावती ढकालले गरेकी थिइन् भने स्वागत मन्तव्य कार्यपालिका सदस्य संगीता विश्वकर्माले राखेकी थिइन्।
























