देवघाटका पाैडेलकाे हत्या गरी फरार जाेगी पक्राउ

देवघाटका पाैडेलकाे हत्या गरी फरार जाेगी पक्राउ

तनहुँको देवघाटमा कुटपिट गरी हत्या गरिएको अभियोगमा फरार रहेका ‘जोगी’ उपनामले चिनिने लोकबहादुर महत पक्राउ परेका छन् । उनलाई चितवनको देवघाटस्थित एक वृद्धाश्रमबाट प्रहरीले पक्राउ गरेको हो ।

महोत्तरी बर्दिवास नगरपालिका–१ का ४६ वर्षीय महत २०८२ असार ५ गते बिहान करिब ५ बजेको समयमा तनहुँको देवघाट गाउँपालिका–५ बद्रिमुक्ति टोलका ३२ वर्षीय प्रकाश पौडेलको हत्या गरी फरार भएका थिए । मादक पदार्थ सेवन गरी कुटपिट गर्दा पौडेलको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनामा संलग्न अन्य दुई अभियुक्त—पाल्पा तानसेन नगरपालिका–८ का २८ वर्षीय बुद्ध सारु मगर र मकवानपुर हेटौंडा उपमहानगरपालिका–३ का ४२ वर्षीय राम लामा-लाई असार ५ कै दिन पक्राउ गरी तनहुँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

तर, हत्या आरोपमा संलग्न महत भने घटनापछि फरार थिए । उनलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय देवघाटबाट प्रहरी निरीक्षक उदयराज पौडेलको कमाण्डमा खटिएको प्रहरी टोलीले असार ७ गते बिहान करिब १० बजे चितवन भरतपुर महानगरपालिका–१ स्थित रोटरी क्लब चितवनले सञ्चालन गरेको वृद्धाश्रममा लुकिछिपी बसेको अवस्थामा फेला पारेको हो । 

प्रहरीले महतलाई नियन्त्रणमा लिएर तनहुँको आबुखैरेनीस्थित इलाका प्रहरी कार्यालयमार्फत थप अनुसन्धान अगाडि बढाइएको जानकारी दिएको छ ।

प्रहरी निरीक्षक तथा सूचना अधिकारी आशिष विकका अनुसार घटनामा संलग्न सबै तीन अभियुक्त पक्राउ परिसकेका छन् र थप अनुसन्धान भइरहेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page