बन्दीपुरमा मानवअधिकार रक्षकका लागि अधिकार सम्बन्धी अभिमुखीकरण कार्यक्रम

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गन्डकी प्रदेश र अनौपचारिक सेवा केन्द्र इन्सेक गण्डकी प्रदेशको संयुक्त आयोजनामा ‘मानव अधिकार र मानव अधिकार रक्षकहरुको अधिकार’ विषयक अभिमुखीकरण कार्यक्रम बन्दीपुरमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले कानुनको सही पालना र सुशासन कायम गर्न सकेमा मानव अधिकारको संरक्षण र प्रवद्र्धन हुनेमा जोड दिएका थिए । मानव अधिकारको संरक्षण र मानवअधिकार रक्षकका अधिकारहरु संरक्षणको लागि विशेष गरि राज्य पक्ष गम्भिर बन्नुपर्ने वक्ताहरूले धारणा राखेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्ति रमण वाग्लेले लोकतन्त्र सुदृढ नहुँदासम्म मानव अधिकार सुरक्षित नहुने भन्दै राज्य र गैर–राज्य दुबै पक्षबाट हुने हनन विरुद्ध सचेत रहनुपर्ने बताए । नागरिक स्वयं सचेत भएमा मानव अधिकारकाे हनन हुन नसक्ने वाग्लेकाे भनाइ थियो । मानवअधिकारको प्रत्याभुतीकोलागि व्यक्ति स्वयं सचेत हुनुपर्छ वाग्लेले भने ।
बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले विद्यालय तहमै मानव अधिकारको विषय समेट्नुपर्नेमा जोड दिए । अध्यक्ष थापाले मानवअधिकारको रक्षा र सम्बद्र्धनकोलागि पालिका गम्भिर भएको र आगामी वर्षको नीति तथा कार्यक्रममा मानवअधिकारको विषय सम्बोधन गर्ने जानकारी दिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले राज्य नै मानवअधिकारको संरक्षक भएको हुँदा राज्यले गर्ने हरेक क्रियाकलाप मानव अधिकार संरक्षण र प्रबद्र्धनको निम्ति हुने धारणा राखे । नागरिकले अधिकारको कुरा गर्दा आफ्नो कतव्र्य र जिम्मेबारी पनि भुल्न नहुने प्रजिअ अधिकारीको भनाइ थियो । राज्यका हरेक निकायले गर्ने काम मानवअधिकार मैत्री हुनुपर्ने अधिकारीले बताए ।
मुख्यमन्त्री कार्यालय गन्डकी प्रदेशका कानुन महाशाखाका सचिव रामजी दनैले कानुनको सही पालना र सुशासन कायम गर्न सकेमा मानव अधिकारको संरक्षण र प्रवद्र्धन सम्भव हुने बताउँदै मानवअधिकारको संरक्षण र सम्बद्र्धनको लागि गन्डकी प्रदेश सरकार सँधै प्रतिबद्ध रहेको बताए ।
मन्त्रालयका सचिव दनैको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मुख्यमन्त्री कार्यालय गन्डकी प्रदेशका उपसचिव सुरणप्रसाद शर्मा पौडेल, बन्दीपुर अस्पतालका मेसु डा.अनिल गिरी, गैसस महासंघ तनहुँकी अध्यक्ष सरला श्रेष्ठ, महिला मानवअधिकार रक्षक सन्जाल तनहुँकी अध्यक्ष कल्पना पौडेलले राज्यका सबै तहका निकाय र नागरिकले मानव अधिकारको संरक्षणमा भूमिका खेल्नुपर्नेमा जोड दिए।
उक्त कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग गन्डकी प्रदेशकी प्रमुख नितु गर्तौलाले मानअधिकार रक्षकको अधिकार सम्बन्धी राष्ट्रिय र अन्तराष्ट्रिय प्रयास तथा राष्ट्रिय मानवअधिकार आयोगको भुमिका, इन्सेक गन्डकी प्रदेशका प्रमुख शिव खकुरेलले मानवअधिकार रक्षक र उनीहरुको समस्या र चुनौती तथा नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपी अधिकारीले पत्रकारका समस्या र चुनौतीको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
पत्रकार, स्वास्थ्यकर्मी, महिला अधिकार रक्षक तथा गैरसरकारी क्षेत्रका प्रतिनिधिहरूको समेत सहभागिता रहेको सो कार्यक्रमको सन्चालन इन्सेक तनहुँका प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले गरेका थिए ।

























