आँबुखैरेनीका बिद्यालय प्रविधिमैत्री बन्दै
जहाँ प्रविधी छ, त्यहाँ सम्भावना छ; जहाँ शिक्षा छ, त्यहाँ उज्यालो भविष्य हुन्छ” भन्ने मुल मन्त्रका साथ तनहुँकाे आँबुखैरेनी गाउँपालिकाले सामुदायिक विद्यालयमा एलइडी स्मार्ट बोर्ड वितरण गरेको छ ।

गाउँपालिकाभित्रका सामुदायिक शिक्षा सुधार नीति तथा कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयको शिक्षण सिकाइ प्रक्रियालाई प्रविधीमैत्री बनाउने उद्वेश्यले स्मार्ट बोर्ड हस्तान्तरण गरेको हो ।
आँबुखैरेनी गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयलाई सोमबार ६५ इन्चका सोह्र वटा एलइडी स्मार्टबोर्ड प्रदान गरिएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताए । “बोर्डको सहि प्रयोग गरी कक्षाकोठालाई डिजिटल बनाउँदै गुणस्तरीय शिक्षा प्रदानमा थप सहयोग पुग्ने अपेक्षा गाउँपालिकाले राखेको चुमानले बताए ।
डिजिटल शैक्षिक उपकरणले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय शिक्षा उपलब्ध गराउने मार्ग प्रशस्त गर्नेछ,उहाँले भन्नुभयो “शिक्षकहरूका लागि पनि शैक्षिक प्रविधिमा क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने छ ।”
प्रविधि समन्वित शिक्षण प्रणालीले विद्यार्थीहरूको सृजनात्मक चिन्तन, विश्लेषणात्मक क्षमतामा प्राविधिक सिप विकास गर्नेे र अन्तरक्रियात्मक शिक्षण वातावरण निर्माण गर्न समेत सहयोगी हुने विस्वास गाउँपालिकाले लिएको छ ।
शैक्षिक गुणस्तर उन्नयनको दिशामा एक महत्वपूर्ण कदम भएको र भविष्यमा पनि यस्तै प्रविधिमूलक शैक्षिक पहल जारी राख्ने प्रतिबद्धता गाउँपालिकाले गरेको छ । यस प्रविधिले स्थानीय शिक्षा प्रणालीमा नवीनतम प्रविधिको समायोजन गर्दै डिजिटल नेपाल निर्माणको संकल्पलाई बलियो बनाउने अपेक्षा राखिएको शिक्षा शाखा प्रमुख निर्मला कुवँरले जानकारी दिइन् ।
त्यसैगरी सामुदायिक विद्यालयमा अध्यनरत बालबालिकालाई लक्षित गरी विभिन्न किसिमका खेल सामाग्री समेत वितरण गरिएकोछ, “जब बालबालिकाले खेल्दै सिक्छन्,तब उनीहरुले पाठ्यपुस्तक भन्दा बढी जीवन बुझ्न सक्छन् ।”

























