एसइईमा तनहुँका तीन बिद्यालय निल

एसइईमा तनहुँका तीन बिद्यालय निल


यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा तनहुँका तीन विद्यालयले निल खाएको छ। जिल्लाका १७२ विद्यालयमध्ये तीन वटा सामुदायिक विद्यालयबाट कुनै पनि परीक्षार्थी उत्तीर्ण नभएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए । दुई सामुदायिक र एक निजी विद्यालय गरी तीन विद्यालयको नतिजा शून्य आएको उनलेे जानकारी दिए ।

श्रेष्ठका अनुसार शुक्लागण्डकी नगरपालिका वडा नं. ३ को उदेनढु‌ङ्गास्थित सामुदायिक दिवस माध्यमिक विद्यालय , व्यास नगरपालिका-१, गल्बुबेंसीस्थितको निजी विद्यालय मादीश्री आवासीय विद्यालय र देवघाट गाउँपालिकाको कमलडाँडास्थित सामुदायिक
विद्यालय राष्ट्रिय माध्यमिक विद्यालय निल खानेमा रहेका छन् । दिवस माविबाट १५. मादीश्रीबाट १२ र राष्ट्रिय माविबाट १० विद्यार्थी सहभागी भएकामा सबै अनुत्तीर्ण भएका थिए।

तनहुँमा झन्डै ६४.३२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। चार हजार ८४५ जना विद्यार्थीले परीक्षा दिएकामा सो सङ्ख्यामा उत्तीर्ण भएका हुन्। परीक्षामा एक हजार ७४९ अर्थात् ३५.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएनन् ।

जिल्लामा चार जनाले चार जिपिए ल्याएका छन्। व्यास नगरपालिका-५. चापाघाटस्थित शान्तिवर्ष माध्यमिक विद्यालयका छात्रा स्नेहा गिरी, बन्दीपुर गाउँपालिका-१, पिप्लेस्थित पवित्रा माध्यमिक विद्यालयका छात्रा आयुषा श्रेष्ठ र आँबुखैरेनी गाउँपालिका-३. आँबुखैरेनी बजारस्थित रामशाह माध्यमिक विद्यालयका छात्र किस्मत पोखेल र छात्रा सन्जिना थापा गरी चार जनाले चार जिपिए ल्याएको एकाइका शाखा अधिकृत भरत बरालले जानकारी दिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page