पवित्राका एसइईमा उत्कृष्ट बिद्यार्थीलाई शिक्षक आचार्यकाे नगद पुरस्कार
बन्दिपुर १ नाहालामा रहेको पवित्रा माध्यमिक बिद्यालयका एक शिक्षकले एसइईमा ए प्लस ल्याउने उत्कृष्ट ९ जना बिद्यार्थीलाई प्राेत्साहन पुरस्कार प्रदान गरेका छन् । विद्यालयका शिक्षक एवं सूचना अधिकारी विजय आचार्यले एसईई परीक्षा २०८१ मा ए प्लस ल्याउने ९ जना बिद्यार्थीलाई प्राेत्साहन स्वरूप एक हजारका दरले नाै हजार पुरस्कार प्रदान गरेका हुन् । बिद्यार्थीहरूकाे हाैसला बढाउन र प्राेत्साहन गर्न व्यक्तिगत हिसाबले नगद पुरस्कार प्रदान गरेको आचार्यले बताए ।

पवित्राले उल्लेखनीय सफलता हात पार्दै सामुदायिक विद्यालय तर्फ बन्दिपुर गाउँपालिका टप गर्न सफल समेत भएको छ। विद्यालयकी छात्रा आयुषा श्रेष्ठले सर्वाधिक ४.० जिपिए ल्याएर पालिका टपर बन्न सफल भएकी हुन् । परीक्षामा १ सय ११ जना विद्यार्थीमध्ये ५४ जना विद्यार्थीहरु उत्तीर्ण हुन सफल भएका विद्यालयले जनाएको छ । विद्यालय परिवारले एसईई परीक्षामा सफल सम्पूर्ण विद्यार्थीहरूलाई सम्मान सहित बधाई दिएर उज्ज्वल भविष्यको कामना समेत गरेको छ।




























