जिल्ला प्रशासनकाे १ वर्षमा दुई लाखलाइ सेवा प्रबाह , ८ करोड राजश्व संकलन !
तनहुँ, साउन १३ गते
तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले सेवाग्राहीलाई सरल र सहज ढंगले सेवा प्रवाह गरिरहेको बताएका छन् । एकै वर्षमा एक लाख ९५ हजार सेवा प्रवाह प्रदान गरेकाे बताउँदै उनलेे सेवा लिनको लागि दुई जनाको दरले आउनु भएपनि करीव चार लाखलाई सेवा दिएकाे दावी गरे । त्यसबाट सात करोड ७६ लाख भन्दा बढी राजस्व योगदान गरिएको प्रजिअ अधिकारीले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयले सोमबार कार्यालयको सेवा प्रवाहको बारेमा जानकारी दिने उद्धेश्यले गरिएको पत्रकार सम्मेलनमा प्रजिअ अधिकारीले उक्त जानकारी दिएका हुन् । जनतालाई सुशासनको प्रत्याभूति दिल्याउन कर्मचारीलाई अतिरिक्त समयमा काम गर्न लगाईएको उनलेे बताए ।

विभिन्न माध्ययमबाट प्राप्त भएका सबै गुनासोको सम्बोधन गरिएको प्रजिअ अधिकारीले बताए अधिकारीले भने, ‘सेवाग्राहीलाई सूशासनको प्रत्याभूति होस् भनेर गुनासोको तुरुन्त सम्बोधन गरेर फच्र्योट गरेका छौं ।’
नागरिक एपबाट एक हजार एक सय, कार्यालयमा निवेदन मार्फत एक सय २२ र क्यूआर कोडबाट १४ र विभिन्न माध्यमबाट २१८ वटा गुनासो प्राप्त भएको र सबैको सुनुवाई गरी फच्र्योट गरिएको अधिकारीले बताए । अधिकारीका अनुसार ८८ प्रतिशत कार्य सम्पादन गरिएको छ । सेवाग्राहीलाई सेवा प्रदान गर्न सहज होस् भनेर एक इलाका प्रशासन कार्यालय सञ्चालनको लागि काम अघि बढिसकेको प्रजिअ अधिकारीले बताए । कार्यालयमा भीड बढी भएको समयमा विहान ७ बजे देखि नै सञ्चालन गरी सेवा प्रदान गरिएको अधिकारी बताउँछन् । कार्यालय साँघुरो भएकोले सेवाग्राहीहरु कार्यालयको सिंढीमा, परिशरको पेटीमा बस्न बाध्य भएकोले तनहुँ जलविद्युत आयोजनाको सहयोगमा सेवाग्राहीलाई पालो पर्खने स्थानको व्यवस्था मिलाउन लागिएको उनले जानकारी दिए ।
























