महिलालाई अधिकार दिने पार्टी काँग्रेस होः केन्द्रीय सदस्य भट्टराई

महिलालाई अधिकार दिने पार्टी काँग्रेस होः केन्द्रीय सदस्य भट्टराई


दमौली, भदौ ६ गते
नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले महिलालाई अधिकार दिने पार्टी नेपाली काँग्रेस भएको बताउनु भएको छ । तनहुँको व्यास नगरपालिका–११ बेल्टारीमा नेपाली कांग्रेस वडा कार्यसमिति र नेपाल महिला संघको आयोजनामा सयुक्त आयोजित हरितालिका तीजको शुभकामना आदानप्रदान कार्यक्रममा भट्टराईले सो कुरा बताउनु भएको हो ।
महिला, दलित, जनजातीलाई अधिकार दिने संविधान काँग्रेसकै नेतृत्वमा जारी भएको उल्लेख गर्दै उहाँले सबैलाई अधिकार दिने पार्टी काँग्रेस भएको बताउनुभयो । भट्टराईले भन्नुभयो, ‘देशमा विकास र सबैलाई अधिकार दिने पार्टी काँग्रेस मात्रै हो ।’
गाउँमा सडक, अस्पताल नभएपनि स्वास्थ्य चौकी, विद्युत, सञ्चार, विद्यालय तथा कलेज खोल्ने पार्टी काँग्रेस नै भएको उहाँले बताउनुभयो । विकासको नाउँमा झुक्काएर भोट माग्नेहरुसँग होशियार हुनुपर्ने भट्टराईको भनाई थियो । भट्टराईले भन्नुभयो, ‘विकासको नाउँमा पाँच मिटर खानेपानीको पाइप नदिनेलाई भोट दिनुहुँदैन मूल्याङ्कन गर्नुपर्दछ ।’ भट्टराईले कांग्रेसलाई विकासप्रेमी पार्टीका रूपमा परिचित गराउँदै तनहुँ जिल्लामा खानेपानी लगायतका आधारभूत पूर्वाधारमा आफू निरन्तर काम गरिरहेको बताउनुभयो । उहाँले तनहुँका जनताको सुख–दुःखमा सधैं काँध मिलाएर साथ दिने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । नयाँ राजनीतिक दलहरूलाई अवरवादी, जनतालाई झुक्याउने र ठग्ने गरेको प्रमाणित भएको आरोप भट्टराईको थियो । विभिन्न पार्टीमा रहेका अवसरवादीहरुको झुण्ड मिलेर नयाँ पार्टी गठन भएको र सहिद, विचार, सिद्धान्त र आर्दश केही नभएको उहाँको भनाई थियो ।

कार्यक्रममा व्यास नगर पािलका प्रमुख वैकुण्ठ न्यौपानेले वडा नम्बर ११ पराशर मार्ग, खड्गकाली मार्गको स्तरोउन्नी काम अघि बढाईएको उल्लेख गर्दै विकासको कामको मूल्याङ्कन गर्न आग्रह गर्नुभयो । पर्यटकीय स्थल तनहुँमा पुग्ने खड्काली मार्गको ठेकेदारले काम नगरेकोले कालो सूचीमा राखी नयाँ ठेकेदारबाट काम गर्न लागिएको बताउनुभयो ।
यस मार्गको लागि संघ सरकारबाट एक करोड विनियोजन भएको उहाँले जानकारी दिनुभयो । पराशर मार्गको काम २० प्रतिशत भएको र ६ महिना म्याद थपेर काम भईरहेको उहाँले जानकारी दिनुभयो । नेपाल महिला संघ व्यास–११ का सभापति सितामाया खनालको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका पूर्व मन्त्री डोबाटे बि क , नेता समुन्द्र गोदार र नेपाली कांग्रेस नगर सभापति सूर्यचन्द्र हड्खेले, नेका व्यास ११ का सभापति ले. देवबहादुर थापा, नेपाल महिला संघ व्यास ११ को निर्वतमान सभापति इन्दिरा अधिकारी लगायतका वक्ताले सस्कृति संरक्षण गर्न, पार्टीलाई क्रियाशिल बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिनु पर्नेमा जोड दिनु भएको थियो । आमा–दिदीबहिनीहरूको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रम महिला संघ व्यास–११ की सचिव दिपा दरै सहसचिव विमला अछामी सहजिकरण गर्नु भएको थियो । कार्यक्रम मिठुमाया नहर्की पुरानो मौलिक तीजको गीत प्रस्तुत गर्दा अतिथि तथा सहभागी महिलाहरु भावुक भएका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page