माग पूरा नभए बिद्यालय बन्द गर्ने तनहुँ प्याब्सनकाे चेतावनी

माग पूरा नभए बिद्यालय बन्द गर्ने तनहुँ प्याब्सनकाे चेतावनी


तनहुँ प्याब्सनले आज जिल्ला प्रशासन कार्यलय तनहुँमा शिक्षा बिधेयक संसोधनको माग गर्दै प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । तनहुँ प्याब्सनका अध्यक्ष नारायण बहादुर क्षेत्रीकाे नेतृत्वमा गएको टाेलिले माग पूरा नभए बिद्यालय बन्द गर्ने चेतावनी सहितको ज्ञापनपत्र प्रजिअ अधिकारीलाई बुझाएको हाे ।

नेपालको शिक्षा ऐन २०२८ लाई प्रतिस्थापन गर्न संघीय शिक्षा ऐन २०८० संघीय संसदको शिक्षा, स्वास्थ्य, सूचना तथा प्रविधि समितिवाट बहुमतद्वारा पारित गरी छलफल र पारितको लागि सार्वभौम संसदको प्रतिनिधि सभामा टेबुल भइसकेको विषय सर्वविदितै रहेको ज्ञापनपत्रमा भनिएको छ ।

ज्ञापनपत्रमा भनिएको छ – करिव ५४ वर्ष पश्चात् नेपालको शिक्षा क्षेत्रमा समय सापेक्ष रुपमा देशले लिएका शैक्षिक लक्ष्य र उद्देश्य प्राप्तिका लागि वैज्ञानिक, व्यवहारिक, गुणस्तरीय एवं प्रतिस्पधीं शैक्षिक वातावरण निर्माणको लागि यो ऐन सदैव मार्ग दर्शक भई रहने छ भन्ने विश्वास हामीले लिएका थियौं। नेपालको शिक्षा क्षेत्रलाई आजको वर्तमान अवस्थामा आइपुग्नका लागि निजी विद्यालयहरूको योगदान र भूमिकाको उच्च मुल्याङ्कन हुनेछ भन्ने विषयमा विस्वस्त थियौं र रहनेछौं ।

तथापि, यो विधेयकले (ऐनले) सम्पूर्ण शैक्षिक क्षेत्रलाई समेट्ने अपेक्षा हामी सम्पूर्ण निजी विद्यालय सञ्चालकहरूले राख्दा राख्दै, प्रस्तुत मस्यौदाका केही प्रावधानहरू प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको र उक्त विषय जस्ताको तस्तै संसदबाट पास/पारित भएमा सम्पूर्ण निजी विद्यालय सञ्चालन र व्यवस्थापनमा नकारात्मक असर पर्न जाने ठहर हामीले गरेका छौं। उक्त विषय समयमै नसच्याइएमा हामी समग्र निजी शैक्षिक क्षेत्रका सम्पूर्ण विद्यालय बन्द गरी थप आन्दोलनमा होमिन वाध्य हुनेछौँ । त्यसर्थ, उल्लेखित विषयहरूमा तपाईं प्रमुख जिल्ला अधिकारीज्युको स्थानबाट उक्त प्रावधानहरूलाई सच्याउन आवश्यक वातावरण निर्माणको लागि अनुरोध गर्दै श्रीमान् प्रमुख जिल्ला अधिकारीज्यूलाई यस अनुरोध पत्र पेश गर्दछौं ।

संशोधन गर्नु पर्ने विषयहरू :

१. पूर्ण छात्रवृत्ति यस सम्बन्धमा विधेयकमा उल्लेख भएको पूर्ण छात्रवृत्ति भन्ने प्रावधान पूर्ण रूपमा हटाइनु पर्छ र सोही दफाको स्पष्टीकरणमा पूर्ण छात्रवृत्ति भन्नाले मासिक भर्ना, वार्षिक शुल्क, पोशाक, यातायात, स्टेशनरी र आवास समेतको प्रावधानलाई संशोधन गरी मासिक शुल्क, भर्ना शुल्क र परीक्षा शुल्क मात्र उल्लेख हुनुपर्छ ।

२. विद्यालयहरूले हाल कायम रहेको जम्मा विद्यार्थी संख्याको १०% छात्रवृत्ति दिने व्यवस्था कायम गर्नुपर्छ

३. गैरनाफामूलकः कम्पनी ऐनमा दर्ता भई सञ्चालित भएका सम्पूर्ण निजी विद्यालयहरूलाई क्रमशः गैरनाफामूलक बनाउँदै लैजाने भन्ने प्रावधान हटाइनुपर्छ ।

४. एकीकृत छात्रवृत्ति प्रणालीः सम्वन्धित पालिकावाट वितरण गर्ने भनेर राखिएको प्रावधानलाई संशोधन गरी पालिका प्रतिनिधि समेतको समितिले सम्बन्धित विद्यालयले नै वितरण गर्न सक्ने प्रावधान राखिनुपर्छ ।

उल्लेखित मागहरु पूरा गर्नका लागि निरन्तर नेपाल सरकार, विभिन्न राजनीतिक दलहरु, संघीय सांसद सबैमा अनुरोध गरिरहेका छौं। यदि मागहरु सम्बोधन नभएमा हामी विद्यालय बन्द गरेर आन्दोलनमा उत्रन बाध्य हुनेछौं । यस्तो परिस्थिति सृजना नहोस् भनेर निरन्तर खबरदारी गरिरहेका छौं । श्रीमान् प्रमुख जिल्ला अधिकारीज्यू मार्फत नेपाल सरकारलाई हाम्रा मागहरु सम्बोधनका लागि अनुरोध गर्दछौं ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page