जेनजी आन्दाेलनमा मारिएका अधिकांशकाे छाती र टाउकोमा गाेली !

जेनजी आन्दाेलनमा मारिएका अधिकांशकाे छाती र टाउकोमा गाेली !

जेन–जी आन्दोलनका क्रममा पहिलो दिन प्रहरीको गोली प्रहारमा मारिएका अधिकांशको छाती र टाउकोमा गोली लागेको पोस्टमार्टम प्रतिवेदनले पुष्टि गरेको छ।

त्रिवि शिक्षण अस्पतालमा सोमबारसम्म २८ शवको पोस्टमार्टम सम्पन्न भएको छ। अस्पतालका फरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीका अनुसार अधिकांश मृतकमाथि टाउको र छाती लक्षित प्रहार भएको छ। सात शव भने चिन्न नसकिने अवस्थामा छन् र तिनीहरूको डीएनए परीक्षण गर्नुपर्ने भएको छ।

२३ भदौमा आन्दोलन सुरु भएको पहिलो दिन मात्रै २१ जनाको ज्यान गएको थियो, जसमा १७ जना ३० वर्षमुनिका थिए। दोस्रो दिन थप ३९ जनाको मृत्यु भएको थियो। तीमध्ये १५ जना विभिन्न भवन र घरमा जलेको अवस्थामा भेटिएका थिए। यसैगरी भाग्ने क्रममा ५ बालबन्दी र ५ कैदीबन्दीको मृत्यु भएको छ।

दुई दिनमा काठमाडौँ उपत्यकामा मात्रै ४७ जनाको ज्यान गइसकेको छ। तीमध्ये २८ शवको पोस्टमार्टम भएको र २३ शव परिवारले बुझिसकेका छन्।

मृतकका परिवारले सरकारसँग १४ बुँदे माग अघि सारेका थिए। सुरुवातमा माग सम्बोधन नभएसम्म शव नउठाउने अडान लिएपछि पीडित परिवार बालुवाटारमा धर्ना बसेका थिए। अन्ततः प्रधानमन्त्री सुशीला कार्कीले मागपत्र स्वीकार्दै सहिद घोषणा, १५ लाख रुपैयाँ राहत, राष्ट्रिय सम्मानसहित अन्त्येष्टि र घाइतेको निःशुल्क उपचार गर्ने निर्णय गरेपछि शव बुझ्न सहमति भएको हो।

मन्त्रिपरिषद्ले १ असोजलाई राष्ट्रिय शोक घोषणा गर्दै सार्वजनिक बिदा दिने, शव व्यवस्थापनका लागि गाडी तथा दुर्गम क्षेत्रमा हेलिकोप्टरको व्यवस्था गर्ने निर्णय समेत गरेको छ। साथै घटनाबारे सत्यतथ्य छानबिन गर्न न्यायिक जाँचबुझ आयोग गठन गर्ने सरकारको भनाइ छ। News source: Kantipur

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page