युवा सहभागीता सुनिश्चितताकाे माग गर्दै नेविसंघले बुझायो ज्ञापनपत्र
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पार्टीमा युवा सहभागिता सुनिश्चित गर्न माग गर्दै केन्द्रीय कार्यसमितिलाई ६ बुँदे ज्ञापनपत्र बुझाएको छ। संघले आफ्ना मागहरूलाई बेवास्ता गरिए चरणबद्ध रूपमा सशक्त आन्दोलनमा उत्रने चेतावनी सहितको ज्ञापनपत्र बुझाएको नेविसंघका केन्द्रीय सदस्य राजेश कुमार श्रेष्ठले बताए ।

पार्टीका कार्यवाहक सभापतिलाई सम्बोधन गर्दै नेविसंघ केन्द्रीय समितिले जारी गरेको विज्ञप्तिमा हाल देशमा देखिएको निराशा, अलमल र राजनीतिक वितृष्णालाई चिर्न पार्टीले युवाहरूको आकर्षण र भरोसाको केन्द्र बन्नुपर्नेमा जोड दिइएको छ। ‘जेन जी’ पुस्ताको आन्दोलनको भावनालाई कदर गर्दै पार्टीलाई परिष्कृत र रूपान्तरित गर्न आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ।

“यो आन्दोलन र जनलहरको भावनालाई कदर गर्दै निम्न विषयहरूमा संस्थागत रूपमा निर्णय गरि आफूलाई परिमार्जित गर्दै अगाडि बढ्न नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति समक्ष हामी माग गर्दछौं,” विज्ञप्तिमा भनिएको छ।
नेविसंघले अघि सारेका प्रमुख मागहरू:
१.प्रस्तावित विधान परिमार्जनसहित नेविसंघ केन्द्रीय कार्यसमितिलाई हस्तान्तरण गर्ने र विधानबमोजिम अविलम्ब महाधिवेशन सुनिश्चित गर्ने।
२. पार्टीको तर्फबाट अवसर र लाभको पद धारण गरेका विभिन्न तह र तप्कामा रहेका सबैको सम्पत्ति विवरण बुझाउनुपर्ने र शंकास्पद व्यक्तिहरूको छानबिन गर्नुपर्ने।
३.नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा युवाहरूको सम्मानजनक उपस्थिति सुनिश्चित गर्नुपर्ने।
४.आम निर्वाचनमा ४०% संख्याक युवाको उम्मेदवारी सुनिश्चित गर्नुपर्ने।
५.‘जेन जी’ पुस्ताको माग र आन्दोलनको मर्मलाई संस्थागत गर्दै पार्टीको विभिन्न तहमा सो समूहको सहभागिता सुनिश्चित गर्नुपर्ने।
६. नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको जिम्मेवारीमा रहेका नेतृत्व पदेन महाधिवेशन प्रतिनिधि नरहने व्यवस्था सुनिश्चित गर्नु पर्ने।
ज्ञापनपत्रको अन्त्यमा विद्यार्थीहरूको आवाजलाई बेवास्ता गरिए सशक्त आन्दोलनमा उत्रन बाध्य हुने र त्यसको सम्पूर्ण जिम्मेवारी पार्टी पदाधिकारीहरूले लिनुपर्ने चेतावनी दिइएको छ।

























