तरूण पत्रकारीता पुरस्कारबाट राना र तरूण युवा उद्यमी पुरस्कारबाट गुरूङ पुरस्कृत

नेपाल तरुण दलको ७३ औं स्थापना दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा तनहुँका पत्रकार प्रताप राना नगद सहित तरुण पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।
नेपाल तरुण दल तनहुँद्धारा दमौलीको अनसन चौतारीमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासङ्घ तनहुँका उपाध्यक्ष तथा कान्तिपुर टेलिभिजनका तनहुँ सम्बाददाता समेत रहेका राना ५ हजार रुपैंयाँ राशी सहित पुरस्कृत भएका हुन् । पत्रकार राना सहित दमौलीमा सारथी फुड्स प्रोडक्टकी संचालक समेत रहेकी युवा महिला उद्यमी मनिता गुरुङ समेत ५ हजार रुपैंयाँ राशी सहित तरुण–युवा उद्यमी पुरस्कारबाट पुरस्कृत भएकी छन् ।

नेपाली कांग्रेस तनहुँका सभापति तथा गण्डकी प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री जीतप्रकाश आले, नेपाली कांग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेल र नेपाल तरुण दल तनहुँका अध्यक्ष हिरा थापाले संयुक्त रूपमा नगद, खादा र सम्मानपत्र प्रदान गरी पत्रकार राना र युवा उद्यमी गुरुङलाई पुरस्कृत गरेका थिए । जिल्लामा रहेर पत्रकारिताको माध्यमबाट युवा उद्यम विकासमा कलम चलाएको भन्दै पत्रकार रानालाई र युवा उद्यमशीलतामा लाग्न प्रेरणा दिने उद्धेश्यले गुरुङलाई पुरस्कृत गरिएको नेपाल तरुण दल तनहुँले जनाएको छ ।
पत्रकारिता पुरस्कार यस अघि गोरखापत्र दैनिकका तनहुँ समाचारदाता अमरराज नहर्की र नेपाल टेलिभिजनका तनहुँ समाचारदाता श्रीहरी पौडेलले पाएका थिए । उक्त अवसरमा युवा उद्यमी पुरस्कारको लागि स्वर्गिय लुकमाया गुरुङको स्मृतिमा तरुण–युवा उद्यमी पुरस्कार अक्षयकोष राख्नेहरू खेमजङ्ग गुरुङ र जगदिश काफ्लेलाई सम्मानपत्र प्रदान गरिएको थियो ।


























