व्यासका मेयर न्याैपानेकाे बिदेश भ्रमण माेह

व्यासका मेयर न्याैपानेकाे बिदेश भ्रमण माेह

स्थानीय तहका जनप्रतिनिधिको विदेश भ्रमण मोह बढ्दो देखिएको छ । वैदेशिक भ्रमण मोहमा व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने समेत देखिएका छन् । स्थानीय तहका पदाधिकारी धेरै जान थालेपछि मन्त्रालयले केही समय अगाडि कडाइ समेत गरेको थियो ।व्यास नगर प्रमुख न्यौपाने हाल दुबई भ्रमणमा छन् । मेयर न्याैपानेले अक्टोबर २७ देखि २९ तारिखसम्म संयुक्त अरब इमिरेट्सको दुबईस्थित एक्स्पो सिटी दुबईमा आयोजना भएको २०२५ एशिया प्रशान्त शहर शिखर सम्मेलन (२०२५ एपीसीएस) र मेयरहरूको फोरम मा नेपालको प्रतिनिधित्व गर्दै दुबई गएका बताइएको छ । उनी यसअघि
उरुग्वे भ्रमणमा गएका थिए भने त्यस अघि नैं थाइल्यान्ड, बेलायत, चीन, कोरिया, लगायत आधा दर्जन भन्दा बढी देशको भ्रमण गरिसकेका छन् । जेनजी आन्दाेलनपछी तनहुँका स्थानीय तहका प्रमुख मध्ये समेत न्याैपाने पहिलो बिदेश भ्रमण गर्नेमा परेका छन् । यसै साता भानुका मेयर आनन्द राज त्रिपाठी पनि उज्वेकिस्तान जाने बुझिएको छ । नगर प्रमुख बिदेश भ्रमणमा जाँदा नगरपालिकाको खर्चमा जान्छन् कि आयोजकको खर्चमा, या आफ्नै खर्चमा भन्ने विषय नगरबासीको चासोको विषय बनेको छ । उनको पटकपटकको बिदेश भ्रमणले नगरको हितको लागि केकस्तो सहयोग भएको छ भन्ने समेत नगरबासीको प्रश्न छ । यता यस सम्बन्धमा व्यास नगरपालिकाका प्रमुख न्याैपानेकाे सचिवालयले नगर प्रमुख बिदेश जाँदा नगरपालिकाको एक रूपया पनि खर्च नहुने बताएकाे छ । हाम्रो खर्चले होइन, आयोजकको स्पन्सरमा भएको भ्रमण हो सचिवालयले भनेको छ ।

सम्मेलन आयोजक एक्स्पो सिटी दुबईले नगरप्रमुख न्यौपानेलाई विश्वभरका छानिएका केही नगरप्रमुखहरू मध्ये एक ”मेयर र चासोको शहर” का रूपमा विशेष आमन्त्रणा प्रदान गरेको सचिवालयले दावी गरेको छ। सम्मेलनमा एशिया, प्रशान्त, मध्यपूर्व, अफ्रिका र दक्षिण एसियाका प्रमुख सहरका नगरप्रमुखहरू सहभागी हुनेछन्।
तीन दशकदेखि निरन्तर आयोजना हुँदै आएको यो सम्मेलन विश्वका सहरहरूबीच सहकार्य, समाधानमुखी दृष्टिकोण र दिगो विकास प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको हो। यस वर्षको मुख्य विषयवस्तु “सहकार्य गर्नुहोस् ,प्रेरित गर्नुहोस् ,रूपान्तरण गर्नुहोस् रहेको छ।
सम्मेलन आयोजक संस्थाले नगरप्रमुख न्यौपानेलाई पूर्ण रूपमा प्रायोजन (फुल स्पन्सर) गर्दै उडान, आवास (होटेल) तथा अन्य सम्पूर्ण खर्चहरूको व्यवस्था समेत गरेको जनाएको छ। साथै, उनको सहभागिताका लागि विशेष भिसा समेत प्रदान गरिएको नगरप्रमुख न्याैपानेकाे सचिवालयले जनाएको छ।
नगरप्रमुख न्यौपानेले यो आमन्त्रणलाई व्यास नगरपालिकाको मात्र नभई सम्पूर्ण नेपालको प्रतिष्ठा र पहिचानका रूपमा लिएका छन्। उनले यस अवसरले व्यास नगरपालिकाका उत्कृष्ट अभ्यासहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने र अन्य सहरहरुका समकालिन उदाहरणिय कार्य एवम समस्याहरुका बारेमा अध्ययन अवलोकन गर्ने अवसर प्राप्त हुने अपेक्षा गरेका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page