कास्की प्रहरीद्वारा जेनजी आन्दाेलनमा हतियार लुटपाट गर्ने १८ जना पक्राउ
जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी कार्यालयहरूमा भदौ २४ गते आक्रमण गरी तोडफोड, आगजनी र हतियार लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले १८ जनालाई पक्राउ गरेको छ।

पक्राउ परेकामध्ये १० जनालाई मंगलबार जिल्ला अदालत कास्कीबाट ६ दिन म्याद थपेर अनुसन्धान अघि बढाएको छ भने ८ जनालाई अदालतले धरौटीमा रिहा गरेको छ। यसरी पक्राउ परेका व्यक्तिहरू विगतमा पनि विभिन्न अपराधमा संलग्न रहेको, कारागार र प्रहरी हिरासतबाट भागेका र मदिरा तथा लागुपदार्थ सेवन गरेका व्यक्तिहरू भएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले बताए।

उनका अनुसार प्रहरी कार्यालय तोडफोड, आगजनी र हतियार लुटपाट मच्चाएको आरोपमा पक्राउ परेका धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका– ४ का राजेश मक्रान्तीमाथि यसअघि २०७९ मा अभद्र व्यवहार मुद्दा चलेको भेटिएको छ।
यस्तै, पोखरा– ११ फुलबारी बस्ने नारायण साई पनि प्रहरी कार्यालयमा आक्रमण गरेको आरोपमा पक्राउ परेका छन्। उनी पनि २०६१ सालमा सवारी साधन तोडफोड गरी क्षेती पुर्याएको आरोपमा सार्वजनिक अपराध मुद्दा चलेको भेटिएको प्रहरीले जनाएको छ।
प्रहरी कार्यालय आगजनी गरी हतियार जलाएको आरोपमा पोखरा– १ मोहोरिया टोल बस्ने ४३ बर्षीय दिपु साई, अन्नपूर्ण गाउँपालिका– ५ नयाँपुलका लङबहादुर नेपाली, सोही स्थानका अरविन विक, ग्रीस क्षेत्री, थमबहादुर सार्की, पूर्णबहादुर नेपाली रहेका छन्।
लङबहादुर अभद्र व्यवहार मुद्दामा प्रहरी हिरासतमा थिए। उनी भदौ २४ गते हिरासत फोडेर फरार भई प्रहरी चौकी नयाँपुल पुगेर तोडफोड, आगजनी र हतियार लुटेर भागेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ।

























