पूर्ण स्मृति सम्मान तथा पुरस्कारः टुकादेवी, हरि र लालप्रसाद छनौट

पूर्ण स्मृति सम्मान तथा पुरस्कारः टुकादेवी, हरि र लालप्रसाद छनौट



तनहुँ मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित शुक्लागण्डकी एफ.एम. ९७.६ मेगाहर्जका तत्कालिन अध्यक्ष पूर्ण कुमार श्रेष्ठको स्मृतिमा स्थापित पूर्ण स्मृति शुक्लागण्डकी एफ.एम. सम्मान तथा पुरस्कार–२०८२ का लागि सम्मानित व्यक्ति छनौट गरिएको छ । चौथो पटक प्रदान गर्न लागिएको सम्मानमा साहित्यतर्फ टुकादेवी पौडेल आचार्य, पत्रकारितातर्फ हरि खरेल र समाजसेवातर्फ लालप्रसाद गर्तौला छनौट भएका छन् ।
पत्रकारिता र साहित्यतर्फ पुरस्कारको राशी नगद १०÷१० हजार, प्रमाण पत्र र पूर्ण स्मृति सामाजिक सेवा पुरस्कार तथा सम्मानतर्फ नगद ५ हजार र प्रमाणपत्र रहेको छ । तनहुँ जिल्लामा साहित्यिक क्षेत्रमा क्रियाशिल रहेका मध्य एक, खोज पत्रकारिता क्षेत्रमा लागेका व्यक्ति र शुक्लागण्डकी नगर क्षेत्रमा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिबाट छनौट गरिएको हो ।
साहित्यतर्फ छनौट भएकी पौडेल विद्यालय अध्ययनसँगै साहित्यतर्फ रुचि र कलम चलाउन थालेकी थिइन् । २०५४ सालमा जिल्ला स्तरीय कविता प्रतियोगितामा प्रथम हुन सफल आचार्यले २०७८ सालमा ‘बार्दली’ लघुकथा सङ्ग्रह प्रकाशनमा ल्याइन् । शुक्ला साहित्य संगम तनहुँकी अध्यक्ष समेत रहेकी आचार्यको पोखरा–३३ स्थायी ठेगाना भई हाल शुनपा–३ कवासेमा बस्दै आएकी छिन् । विभिन्न पुरस्कार र सम्मानबाट सम्मानित आचार्यले साहित्यसँग सम्बन्धित पुस्तकहरुको सम्पादन र व्यवस्थापन गरेको अनुभव छ ।


यस्तै पत्रकारितातर्फ सम्मानित हुन लागेका पत्रकार खरेल शुक्लागण्डकीमा रहेर क्रियाशिल छन् । इन्द्रावती गाउँपालिका–४, सिन्धुपाल्चोकमा जन्मिएका खरेल हालः शुक्लागण्डकी–२, हलेदीमा बस्दै आएका छन् । वि.स.२०७६ सालमा तनहुँ खबर राष्ट्रिय दैनिकबाट पत्रकारिता शुभारम्भ गरेका खरेल हाल शुक्ला न्यूज अनलाईनका सम्पादक हुन् । खरेल शुक्लागण्डकी पत्रकार मञ्चका सदस्य हुन् । उनी श्री शुक्लागण्डकी मुक्तिनाथ च्यवनधाम, गाछेपानीद्धारा युवा पत्रकािरता पुरस्कार–२०७९ बाट र भानुभक्त बहमुखी क्याम्पस, बेलचौताराले प्रदान गर्ने पहिलो भानुभक्त तारा २०८२ बाट सम्मानित भएका छन् ।
समाजसेवातर्फ छनौट भएका ८३ वर्षिय गर्तौला यस क्षेत्रका विभिन्न सामाजिक संघसंस्थामा क्रियाशिल रहि नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । वि.स. २०३० सालमा उदेनढुंगा गाउँपञ्चायत वडा नं. १ को वडा अध्यक्षमा निर्वाचित गर्तौला २०३४–२०३९ सालसम्म खैरेनी गाउँपञ्चायत अध्यक्ष भएका थिए । सहिद कृष्ण मावि, शुनपा–३, संस्थापक अध्यक्ष रहेका उनले आफ्नै नेतृत्वमा श्री शुक्लागण्डकी मुक्तिनाथ च्यवनधाम स्थापना गरेका थिए । हाल गर्तौला शुनपा–३ कवासेमा बस्दै आएका छन् ।
पुरस्कृत एवम् सम्मानित व्यक्तित्व छनौटका लागि रेडियोका पूर्व अध्यक्ष नारायण कुमार श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय छनोट समिति गठन गरिएको थियो । समिति सदस्यहरुमा रेडियोका निवर्तमान अध्यक्ष ऋषेश्वर भुवाई ‘ऋतु’ र सल्लाहकार कृष्णप्रसाद पौडेल रहेका थिए । उनीहरुलाई आगामी पुष ७ गते रेडियोको दशौं वार्षिक साधारणसभाको अवसरमा सम्मान गरिने अध्यक्ष शिव पौडेलले जानकारी दिए । पूर्ण स्मृति शुक्लागण्डकी एफ.एम. सम्मान तथा पुरस्कार–२०७९ बाट पत्रकारितातर्फ विश्वबन्धु भण्डारी, साहित्यतर्फ शेषमणि आचार्य र समाजसेवातर्फ भक्तबहादुर रिमाल सम्मानित भएका थिए । यसैगरी २०८० बाट पत्रकारितातर्फ विकास खनाल, साहित्यतर्फ सागर उदास र समाजसेवामा नन्दराज थापा सम्मानित भएका थिए । यस्तै २०८१ पत्रकारितातर्फ प्रकाशचन्द्र भट्टराई, साहित्यतर्फ भिम रानाभाट र समाजसेवातर्फ देउ बहादुर गुरुङ सम्मानित भएका थिए ।
रेडियोका शेयरधनी सदस्य, शुभेच्छुकबाट स्वतस्फूर्त र केहि रकम उहाँको परिवारबाट जम्मा गरि ३ लाख रुपैयाको अक्षयकोष स्थापना गरिएको हो । सोहि रकमको ब्याजबाट प्राप्त आम्दानीले प्रत्येक वर्ष ३ विधामा क्रियाशिल व्यक्तिहरुलाई पुरस्कार प्रदान गरिदै आएको सचिव टिकाराम श्रेष्ठले जानकारी दिए । रेडियोको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका पूर्णको २०७८ जेठ १२ गते हृदयघातका कारण ४८ वर्षको उमेरमा निधन भएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page