अन्तर्राष्ट्रिय आप्रवासी दिवस- विदेशमा ज्यान गुमाएकाका सन्तानलाई शैक्षिक सामग्री वितरण

अन्तर्राष्ट्रिय आप्रवासी दिवस- विदेशमा ज्यान गुमाएकाका सन्तानलाई शैक्षिक सामग्री वितरण

अन्तर्राष्ट्रिय आप्रवासी दिवस २०२५ को अवसरमा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका श्रमिकका परिवारका सन्तानलाई लक्षित गरी शैक्षिक सामग्री हस्तान्तरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। सुरक्षित आप्रवासन ( सामी ) कार्यक्रम तनहुँकाे आयाेजनामा दमाैलीमा भएको कार्यक्रममा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका श्रमिकका बालबालिकालाई कापी, कलम लगायतका शैक्षिक सामग्री वितरण गरिएको थियो। साथै पीडित परिवारका सदस्यहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै उनीहरूका समस्या, चुनौती र अपेक्षाबारे छलफल गरिएको थियो।

कार्यक्रममा बोल्ने वक्ताहरूले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका श्रमिकप्रति दुख व्यक्त गर्दै उनीहरूका परिवार, विशेषगरी बालबालिकाको शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा राज्य तथा सरोकारवाला निकायको विशेष ध्यान आवश्यक रहेको बताए। शिक्षा नै पीडित परिवारका सन्तानको भविष्य सुरक्षित गर्ने महत्वपूर्ण आधार भएको उनीहरूको भनाइ थियो।

अन्तरक्रिया कार्यक्रममा सहभागी अभिभावकहरूले शैक्षिक सहयोगले आफ्ना बालबालिकाको मनोबल बढाएको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे।

कार्यक्रम आयोजक संस्थाले वैदेशिक रोजगारी सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताउँदै पीडित परिवारको दीर्घकालीन सहयोगका लागि आगामी दिनमा समेत यस्ता कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

उक्त अवसरमा कार्यक्रमकाे उद्धेश्य तथा स्वागत र सुरक्षित आप्रवासन ( सामी ) कार्यक्रमकाे प्रगति विवरण बारेमा जिल्ला कार्यक्रम संयाेजक लुना रानाले प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा उक्त सहयोग सामाग्री व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्याैपाने , प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी , नगर उपप्रमुख इन्दिरा दरै , सहायक प्रमुख जिल्ला अधिकारी दिपक रेग्मी , प्रमुख प्रशासकिय अधिकृत सुकदेव लम्साल लगायतले हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा प्रजिअ अधिकारीले सामीकाे जिल्ला प्रशासन कार्यालयमा रहेको कार्यकक्ष भवन जल्दा केही असहज देखिएको तर अब क्रमशः सहज हुने धारणा राखेका थिए । यस्तै नगर प्रमुख बैकुण्ठ न्याैपानेले सामिकाे महत्त्व , उद्धेश्य लगायतका बारेमा धारणा राखेका थिए ।
सामी कार्यक्रम अहिले १० वटै स्थानीय तहमा चालु भएको संयाेजक रानाले जानकारी दिइन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page