तनहुँमा लागू औषधसहित युवक पक्राउ
जिल्ला प्रहरी कार्यालय तनहुँले लागू औषधसहित एक युवकलाई पक्राउ गरेको छ।
मिति २०८२ साल पौष ४ गते साँझ करिब ५:३० बजे आँबुखैरेनी गाउँपालिका–४ बेनीटारस्थित मुग्लिन पुल नजिक रहेको अस्थायी प्रहरी पोष्टबाट खटिएको चेकिङ टोलीले मुग्लिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग.२ ख २२८० नम्बरको ईभी माइक्रोबसलाई रोकी जाँच गरेको थियो।
चेकजाँचका क्रममा माइक्रोबसको ड्यासबोर्डमा राखिएको फेन्सी झोलाभित्र र्यापिङ टेपले बेरेर राखिएको सानो कार्टुनबाट लागू औषध टापेन्टाडोल (Tapentadol) का ५०० क्याप्सुल फेला परेको प्रहरीले जनाएको छ।

बरामद गरिएको लागू औषध नियन्त्रणमा लिई आवश्यक अनुसन्धानपछि जिल्ला कास्की, पोखरा महानगरपालिका–९ निवासी २९ वर्षीय सागर लामालाई पोखराको पृथ्वीचोक क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका लामामाथि लागू औषध सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ।



























