तनहुँ–२: उज्यालो नेपालका उम्मेदवारद्वारा रास्वपालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता
तनहुँ क्षेत्र नं. २ मा हुने आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उज्यालो नेपाल पार्टीका उम्मेदवार मनराज गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार वरिष्ठ इन्जिनियर श्रीराम न्यौपानेलाई समर्थन गर्ने घोषणा गरेका छन्।
गुरुङले आगामी फागुन २१ गते हुने निर्वाचनमा रास्वपाको जित सुनिश्चित गर्न आफूले उम्मेदवारी फिर्ता लिएको बताएका छन्। उनले व्यक्तिगत स्वार्थभन्दा देश र जनताको हितलाई प्राथमिकतामा राख्दै यो निर्णय लिएको प्रतिक्रिया दिएका छन्।
“तनहुँ–२ मा परिवर्तन र सुशासनको एजेन्डालाई बलियो बनाउन रास्वपाका उम्मेदवार श्रीराम न्यौपानेलाई सहयोग गर्ने निष्कर्षमा पुगेका छौँ,” गुरुङले भने। “त्यसैले उज्यालो नेपाल पार्टीको तर्फबाट उम्मेदवारी फिर्ता लिएर समर्थन गर्ने निर्णय गरिएको हो।”
उम्मेदवारी फिर्तासँगै तनहुँ–२ मा रास्वपाको चुनावी अभियान थप सशक्त हुने देखिएको छ। स्थानीय स्तरमा विकास, पारदर्शिता र जवाफदेहिताको विषयलाई प्राथमिकतामा राख्दै आएका न्यौपानेलाई उज्यालो नेपाल पार्टीको समर्थनले सकारात्मक सन्देश जाने राजनीतिक विश्लेषकहरूको भनाइ छ।
वरिष्ठ इन्जिनियरका रूपमा परिचित श्रीराम न्यौपाने प्राविधिक क्षमता, इमानदार छवि र नयाँ राजनीतिक संस्कृतिको प्रतिनिधि उम्मेदवारका रूपमा चर्चा हुँदै आएका छन्। उज्यालो नेपाल पार्टीको समर्थनले परिवर्तनको चाहना राख्ने मतदातालाई एकताबद्ध गर्ने विश्वास गरिएको छ।
गुरुङले सामाजिक सञ्जाल फेसबुक मार्फत पनि आफ्नो निर्णयको कारण स्पष्ट पारेका छन्। उनले लेखेका छन् कि नेपालमा हरेक राजनीतिक विद्रोहपछि जनताको अपेक्षा सुशासन र तीव्र आर्थिक वृद्धिको रहन्छ। तर व्यवस्थामा सुधार भए पनि जनताको अवस्था पर्याप्त परिवर्तन हुन सकेको छैन।
गुरुङले उल्लेख गरे, “मेरो उम्मेदवारीले नयाँ पुस्ताबीच प्रतिस्पर्धा हुने र फेरि पुरानाहरूको फाइदा पुग्न सक्ने सम्भावना भएदेखि उम्मेदवारी फिर्ता लिएको छु। सहिदहरूको बलिदान र आर्थिक समृद्धिको सपना नयाँ जुद्धर होइन, जुटेर पूरा गर्न सकिन्छ। त्यसैले मेरो समर्थन रास्वपाका घण्टी चुनाव चिन्हलाई रहने जानकारी दिन चाहन्छु।”

तनहुँ–२ को निर्वाचनलाई राष्ट्रिय राजनीतिमा समेत चासोका साथ हेरिएको छ। दलहरूबीचको सहकार्य र समर्थनले निर्वाचनको परिणाममा महत्वपूर्ण प्रभाव पार्ने अनुमान गरिएको छ।


























