नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा राधा मा वि लाई कम्प्युटर र प्रिन्टर सहयोग
तनहुँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड, जामुने शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत श्री राधा माध्यमिक विद्यालयलाई एक थान कम्प्युटर र एक थान प्रिन्टर सहयोग प्रदान गरेको छ।
विद्यालयमा अध्ययनरत गरिब तथा जेहेनदार विद्यार्थीहरूलाई प्रविधिमैत्री शिक्षा प्रदान गर्ने उद्देश्यका साथ उक्त सहयोग गरिएको बैंकले जनाएको छ। सहयोग सामग्री २०८२ साल माघ १० गते शनिबार, विद्यालयको ४५औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा प्रदान गरिएको हो।
सहयोग सामग्री नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड, जामुने शाखा प्रमुख विश्वराज पौडेल तथा शाखाका सम्पूर्ण कर्मचारीहरूले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्दीप रानाभाट र प्रधानाध्यापक अशोक चन्द्र वाग्लेलाई हस्तान्तरण गरेका थिए।
कार्यक्रममा राधा माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रधानाध्यापक, शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

बैंकले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।


























