आबुँखैरेनीमा इभि माइक्रो दुर्घटना, २ जनाको अवस्था गम्भीर
तनहुँ, आबुँखैरेनी । तनहुँको आबुँखैरेनी गाउँपालिका–१ सत्रसयस्थित पृथ्वीराजमार्गमा इभि माइक्रो दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
१६ गते साँझ करिब ७:१० बजे काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.प्र.०१–००२ ज ८५१८ नम्बरको इभि माइक्रो अनियन्त्रित भई डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
दुर्घटनामा परेर १२ जना घाइते भएका मध्ये २ जनाको अवस्था गम्भीर, ४ जनाको अवस्था मध्यम र ६ जना सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । घाइतेहरूलाई उपचारका लागि आबुँखैरेनी अस्पताल पुर्याइएको थियो ।
गम्भीर घाइते हुनेमा इभि चालक काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–हर्कपुरका २३ वर्षीय मनिष कुँवर रहेका छन् । उनको पेट र छातीमा भित्री चोट लागेको छ । त्यस्तै कास्की पोखरा महानगरपालिका–चमेरे गुफाकी २१ वर्षीया अन्जली पुनको टाउकोमा चोट लागेको र बोल्न नसक्ने अवस्था रहेको जनाइएको छ । दुवैलाई थप उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुर रिफर गरिएको छ ।
मध्यम घाइते हुनेमा रौतहटका १९ वर्षीय धिरज यादव, काठमाडौं अनामनगरका २० वर्षीय आदर्श सुनार, मकवानपुर थाहा नगरपालिकाका २३ वर्षीय राज बलामी (सह–चालक) र पाँचथरकी २० वर्षीया इच्छा लिम्बु रहेका छन् । राज बलामीलाई पनि थप उपचारका लागि भरतपुर रिफर गरिएको छ ।

अन्य ६ जनाको अवस्था सामान्य रहेको र अस्पताल भर्ना गर्न नपरेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


























