तनहुँका शिक्षासेवी ब्रजनाथ खनाल स्वर्ण महोत्सव समारोहमा सम्मानित
तनहुँ । लामो समयसम्म तनहुँ जिल्लाका दुर्गम क्षेत्रका विद्यालयहरूमा प्रधानाध्यापकको रूपमा सेवा गर्दै सामाजिक चेतना र शिक्षाको ज्योति फैलाउन महत्वपूर्ण योगदान पुर्याएका शिक्षासेवी ब्रजनाथ खनाललाई विशेष समारोहका बीच सम्मान गरिएको छ।
खनालले २०१९ सालदेखि २०२२ सालसम्म भिरकोट, २०२३ देखि २०२५ सालसम्म रामजाकोट, २०२६ देखि २०३१ सालसम्म जामुने भञ्ज्याङ र २०३२ सालदेखि २०६२ सालसम्म सागे ठुलोटारमा रहेर करिब ४१ वर्षसम्म अहोरात्र शिक्षा क्षेत्रमा योगदान पुर्याएका थिए। यस अवधिमा उहाँले दुर्गम बस्तीहरूमा विद्यालय स्थापनासँगै शिक्षाको विकास र सामाजिक चेतनाको अभिवृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गर्नुभयो।
कर्मप्रति अटल रहँदै उहाँले आफ्ना साना छोराछोरीहरू यदुनाथ, दुर्गा र शुभनाथलाई हजुरबुबा–हजुरआमाको संरक्षणमा छाडेर खोला, नदी र जङ्गली जनावरको जोखिम बेवास्ता गर्दै शिक्षाको सेवामा निरन्तर खटिनुभएको परिवारजनले स्मरण गरेका छन्।
आज तनहुँ जिल्लामा राजनीतिज्ञ, शिक्षक, इन्जिनियर, प्राध्यापक तथा न्याय र कानुनका क्षेत्रमा विशिष्ट स्थान हासिल गरेका थुप्रै व्यक्तिहरू उहाँकै विद्यार्थी रहेको उल्लेख गर्दै उहाँप्रति देखाइएको आदरभावप्रति परिवारजनले नतमस्तक हुँदै कृतज्ञता व्यक्त गरेका छन्।
उदय माध्यमिक विद्यालय, ठुलोटारमा करिब ३० वर्षसम्म प्रधानाध्यापकको रूपमा सेवा गरी सेवानिवृत्त हुनुभएका खनाललाई विद्यालयको स्वर्ण महोत्सव समारोहको अवसरमा २०८२ साल माघ १८ गते शनिबार ८७ वर्षको उमेरमा भव्य समारोहबीच सम्मान गरिएको हो।

समारोहका आयोजकहरूप्रति आभार व्यक्त गर्दै खनाल परिवारले हार्दिक धन्यवाद प्रकट गरेको छ।


























