डिभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र बनाउने गिरोह मध्ये तनहुँका किरण सिंह पक्राउ
दमौली (तनहुँ) । अमेरिकाको डाइभर्सिटी भिसा (डिभी) प्रक्रिया अघि बढाउन नक्कली शैक्षिक प्रमाणपत्र तयार पार्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका सात जनामध्ये तनहुँको म्याग्दे गाउँपालिका–७ घर भएका १९ वर्षीय किरण सिंह ठकुरी मुख्य व्यक्ति रहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार ठकुरीले डिभी प्रयोजनका लागि काठमाडौँस्थित अमेरिकी दूतावासमा कक्षा १२ उत्तीर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेका थिए ।

उक्त प्रमाणपत्र प्रमाणीकरणका लागि अमेरिकी दूतावासले राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीमा पठाएको थियो । बोर्डले प्रमाणपत्र नक्कली भएको पुष्टि गरेपछि प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा ठकुरीले आफैँ प्रमाणपत्र नबनाई एउटा गिरोहको सहयोगमा तयार पारेको खुल्न आएको छ ।
प्रहरीको विशेष टोलीले माघ १५ र १६ गते काठमाडौँका विभिन्न स्थानबाट यस कार्यमा संलग्न सात जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा अनिल शर्मा (४० वर्ष) फलेवास–पर्वत, लक्ष्मण बस्नेत (३४ वर्ष) तारकेश्वर–काठमाडौँ, केशव फुयाँल (४२ वर्ष) ककनी–नुवाकोट, विष्णु पाण्डे (४७ वर्ष) तादी–नुवाकोट, दीपा लावती (४३ वर्ष) काठमाडौँ–२ र शोभाखर खनाल (५२ वर्ष) गुल्मी रहेका छन् ।
कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ परेका सबैलाई लिखतसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।
प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाउने गिरोहको सञ्जाल अझै ठूलो हुन सक्ने आशङ्कासहित थप अनुसन्धान अघि बढाएको जनाएको छ । साथै, वैदेशिक रोजगारी वा अध्ययनका लागि विदेश जान चाहने युवाहरूलाई प्रलोभनमा पारी नक्कली कागजात बनाइदिने गिरोहबाट सतर्क रहन आग्रह गरेको छ ।


























