नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा जनगणपति माविलाई खानेपानी व्यवस्थापनका लागि सहयोग
तनहुँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड, जामुने शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत तनहुँ जिल्लाको म्याग्दे गाउँपालिका–३, अधिकारीथोकस्थित श्री जनगणपति माध्यमिक विद्यालयलाई स्वच्छ तथा सफा खानेपानीको व्यवस्था गर्न आर्थिक सहयोग प्रदान गरेको छ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै बैंकले एक थान यूरोगार्ड पानी फिल्टर तथा एक थान पानी टंकी खरिदका लागि उक्त सहयोग उपलब्ध गराएको हो। माघ १८ गते आइतबार विद्यालयको २५औँ वार्षिकोत्सव (रजत जयन्ती) तथा अभिभावक दिवसको अवसर पारेर उक्त सहयोग प्रदान गरिएको हो।
सहयोग सामग्री नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड, जामुने शाखाका शाखा प्रमुख विश्वराज पौडेल तथा शाखाका अन्य कर्मचारीहरूको उपस्थितिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शुशिल न्यौपाने र प्रधानाध्यापक रवि राज पोखरेललाई हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, प्रधानाध्यापक, शिक्षकहरू, विद्यार्थीहरू तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। बैंकको यस सहयोगले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई सुरक्षित र स्वच्छ खानेपानी उपलब्ध हुने अपेक्षा गरिएको छ।


























