तनहुँमा सवारी दुर्घटना : मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु
तनहुँ — तनहुँको शुक्लागण्डकी नगरपालिका–२ नर्सरीस्थित पृथ्वीराजमार्गमा मंगलबार दिउँसो भएको सवारी दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा आज मृत्यु भएको छ ।

माघ २७ गते अन्दाजी ४ बजेको समयमा दुलेगौंडाबाट पोखरातर्फ जाँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ट्याक्सी एकआपसमा ठोक्किएका थिए। ठक्करपछि ट्याक्सी ब्याक हुँदा पछाडिबाट आइरहेको सामान बोक्ने भ्यानसँग समेत ठोक्किन पुगेको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक समेश कुमार थापाको पोखरास्थित अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
ट्याक्सीमा सवार व्यास नगरपालिका–१ भादगाउँ निवासी ४८ वर्षीया व्यास नगरपालिका उपमेयर इन्दिरा दरै र उनका २७ वर्षीय छोरा हेमन्त दरै घाइते भएका थिए। दुवै जनाको टाउको र पेटमा चोट लागेको भए पनि अवस्था सुधारोन्मुख रहेको र चिकित्सकका अनुसार भोलिसम्म डिस्चार्ज हुने सम्भावना रहेको बताइएको छ।

ट्याक्सी चालक सन्देश गोले पनि दुर्घटनामा घाइते भएका थिए र उनको पनि उपचार भइरहेको छ। दुर्घटनामा संलग्न मोटरसाइकल र भ्यानलाई इलाका प्रहरी कार्यालय बेलचौताराले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

























