व्यास नगर आमा समूहद्वारा महर्षी वेदव्यास संस्कृत माविमा एक लाखको अक्षयकोष स्थापना

व्यास नगर आमा समूहद्वारा महर्षी वेदव्यास संस्कृत माविमा एक लाखको अक्षयकोष स्थापना

व्यास नगरपालिका–३, दमौलीस्थित व्यास नगर आमा समूहले महर्षी वेदव्यास संस्कृत माध्यमिक विद्यालय (गुरुकुलम्) तथा श्रीराधाकृष्ण आध्यात्मिक साधना केन्द्रमा भगवानको नित्य सेवा, वेदपाठ, हवन, गोसेवा तथा बटुक भोजन व्यवस्थापनलाई दीर्घकालसम्म व्यवस्थित रूपमा सञ्चालन गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरेको छ। समूहले उक्त उद्देश्यका लागि रु. १,०१,१११ (अक्षरेपी एक लाख एक हजार एक सय एघार रुपैयाँ मात्र) सहयोग प्रदान गरेको हो।

एक कार्यक्रमका बीच उक्त रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलसी शरण सिग्देललाई औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो। कार्यक्रममा व्यास नगर आमा समूहकी अध्यक्ष मञ्जु वाग्लेको नेतृत्वमा उपाध्यक्ष अप्सरा थापा लगायत पदाधिकारी, सदस्यहरू तथा स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष वाग्लेले गुरुकुलमा अध्ययनरत बटुकहरूको नित्य सेवा र भोजन व्यवस्थापनलाई दिगो बनाउन अक्षयकोष स्थापना गरिएको बताउनुभयो। धार्मिक, शैक्षिक तथा सांस्कृतिक परम्पराको संरक्षणमा सहयोग पुर्‍याउने उद्देश्यले समूहले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको उहाँको भनाइ थियो।
विद्यालयका अध्यक्ष सिग्देलले आमा समूहप्रति आभार व्यक्त गर्दै प्राप्त रकमलाई पारदर्शी तथा प्रभावकारी रूपमा परिचालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले यस्तो सहयोगले संस्कृत शिक्षा र धार्मिक संस्कार संरक्षणमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
व्यास नगर आमा समूह विगतदेखि नै विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएको छ। समूहले विपन्न परिवारलाई राहत वितरण, धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना, सरसफाइ तथा जनचेतनामूलक अभियान सञ्चालन, विद्यालय तथा मन्दिरहरूमा सहयोग तथा महिला सशक्तिकरणका कार्यक्रम सञ्चालन गर्दै समाजमा सकारात्मक योगदान पुर्‍याउँदै आएको सचिव शर्मिला ओझाले बताइन् ।

अक्षयकोष स्थापना कार्यक्रमले समूहको धार्मिक आस्था, सामाजिक प्रतिबद्धता र शैक्षिक सहयोगप्रतिको समर्पणलाई थप उजागर गरेको स्थानीयवासीहरूले बताएका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page