तनहुँ–१ मा युवाको हुंकार: मन्जिल रानाको अभियान गाउँ–गाउँमा तिव्र
तनहुँ । तनहुँ–१ मा युवा पुस्ताको ढुकढुकी बनेका मन्जिल रानाको चुनावी अभियान यतिबेला गाउँ–गाउँमा तिव्र बनेको छ । हरेक पालिका, वडा र टोलमा पुग्दा देखिएको युवाको उत्साहले अभियान जिततर्फ लम्किरहेको संकेत दिएको रानाको प्रचारप्रसारमा लागेका युवाहरूले दावी गरेका छन् ।उम्मेदवार रानाले पार्टीका नाममा भएका राष्ट्रविरोधी र भ्रष्ट गतिविधिप्रति असन्तुष्टि जनाउँदै यसपटक आमूल परिवर्तनका लागि आँफु उठेको र भोट दिन आह्वान गरेका छन् ।
करिब १५ वर्षअघि खरले छाएको घरमा पाल टाँगेर ‘माया स्कुल’ स्थापना गरेका रानाले श्रमदानमा आधारित शिक्षण अभ्यास सुरु गरेका थिए । उनका अनुसार शिक्षा सुधार भाषणको विषय नभई जीवनको अनुभवबाट आएको आवश्यकता हो । “सानो उमेरका बालबालिकालाई प्राथमिकतामा राखेर व्यवहारिक शिक्षा दिनुपर्छ,” उनले भने, “मैले काम गरेर देखाएको छु, अब नीतिगत तहमा सुधार गर्न चाहन्छु ।”
रानाले आफ्नै स्कुलमा कृषि अभ्यास गर्दै तरकारी उत्पादन गरेको अनुभव सुनाउँदै किसानको पीडा उजागर गरे । “ठूला शहरमा शुद्ध दूध, विषादीरहित तरकारी र लोकल कुखुराको माग छ, तर बजारमा नक्कली ‘लोकल’ बेचिन्छ,” उनले भने, “साँचो उत्पादन गर्ने किसानले उचित मूल्य पाउँदैनन् ।” तनहुँका कुखुरा, सुन्तला र कागतीजस्ता उत्पादनलाई मूल स्थान देखिने गरी ब्रान्डिङ गर्न सके किसानलाई न्याय र उपभोक्तालाई विश्वास दिलाउन सकिने उनको भनाइ छ ।
तनहुँमा बढ्दो रेमिटेन्स निर्भरता र युवाको विदेश पलायन गम्भीर समस्या भएको उनले बताए । “यी समस्या किताबबाट होइन, जीवनबाट बुझेको हुँ,” रानाले भने, “यिनै यथार्थ समस्याको समाधान खोज्न म राजनीतिमा आएको हुँ ।”

प्राकृतिक रूपमा सुन्दर तनहुँमा होमस्टे र ग्रामीण पर्यटन विकास गरी स्थानीय रोजगारी सिर्जना गर्न सकिने उनको विश्वास छ । युवाहरूको स्वस्फूर्त सहभागिताले आफूलाई थप उत्साहित बनाएको उनले बताए ।
फागुन २१ गते हुने उपनिर्वाचनमा राना स्वर्णिम वाग्ले, गोविन्द भट्टराई, भगवती न्यौपाने र विद्या ढकालसँग प्रतिस्पर्धामा छन् । “यसपटक तनहुँले काम गरेर देखाउने नयाँ पुस्ताको प्रतिनिधि रोज्नेछ भन्ने विश्वास छ,” उनले दृढतापूर्वक भने ।


























