म्याग्दे दमौली समाजद्वारा विभिन्न क्षेत्रमा निर्वाचित व्यक्तित्वहरूलाई सम्मान
म्याग्दे घर भई विभिन्न पेशा, व्यवसाय, रोजगारी तथा बसाइँसराइका सिलसिलामा दमौली तथा आसपास क्षेत्रमा बसोबास गर्दै आएका व्यक्तिहरूको संस्था म्याग्दे दमौली समाजले समाजमा आबद्ध भई विभिन्न संघसंस्थामा निर्वाचित भएका व्यक्तित्वहरूलाई सम्मान गरेको छ।
समाजले हालै सम्पन्न अधिवेशनबाट निर्वाचित तउवासंघका अध्यक्ष इमकुमार मल्ल, सदस्य कुमार मल्ल, इकाई उपसभापति नारायण मल्ल, महिला उद्यमी निर्मला मल्ल, सदस्य बलराम वाग्ले, सुनचाँदी व्यवसायी संघका अध्यक्ष हरि गहतराज तथा छङ्गेली नेवा खलका अध्यक्ष चन्द्र कायस्थ लगायतलाई सम्मान गरेको हो।
सम्मान समारोहमा समाजका अध्यक्ष भाग्यशाली ढुंगाना, निवर्तमान अध्यक्ष मनिराज थापा तथा सल्लाहकार क्या सुर्जकुमार मल्ल लगायतले सम्मान प्रदान गरेका थिए। सम्मानित अध्यक्ष मल्लले समाजप्रति आभार व्यक्त गर्दै आगामी दिनमा समेत समाजप्रति जिम्मेवार रहन प्रतिबद्धता जनाए।

सोही अवसरमा बसेको बैठकले आगामी चैत २८ गते शनिबार म्याग्दे स्थित घुम्ती माथि रहेको झण्डा पार्कमा बनभोज कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। कार्यक्रम व्यवस्थापनका लागि उपसमिति समेत गठन गरिएको छ, जसको संयोजक उपसभापति शेरकुमार कायस्थ रहेका छन्।

कार्यक्रममा बृहत् भेटघाट, छलफल, शुभकामना आदानप्रदान तथा सांस्कृतिक प्रस्तुति रहने समाजका अध्यक्ष ढुंगानाले जानकारी दिए। उक्त कार्यक्रमले समाजबीच एकता, सहकार्य र सहभागिता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

























