रिस्ती र बानियाँ गाउँको एउटै स्वर: “राष्ट्रपतिको उत्तराधिकारी गोविन्द भट्टराई”
दमौली (तनहुँ),
तनहुँ क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी उत्कर्षमा पुगेका बेला नेपाली काँग्रेसका उम्मेदवार गोविन्द भट्टराई राष्ट्रपतिकाे गाउँमा पुगेका छन् । राष्ट्रपतिको जन्मगाउँ व्यास नगरपालिका–८ रिस्तीदेखि व्यास–७ को बानियाँ गाउँसम्म पुग्दा मतदाताहरूले भट्टराईलाई राष्ट्रपतिको ‘सच्चा राजनीतिक उत्तराधिकारी’ र देश हाँक्ने सामर्थ्य भएको नेताका रूपमा चित्रण गरेका छन्।
बिहीबार रिस्तीमा आयोजित मतदाता भेटघाट कार्यक्रममा बोल्दै भट्टराईले राष्ट्रपतिले सुरु गरेका अधुरा योजना तथा सपनाहरूलाई पूर्णता दिने जिम्मेवारी अब आफ्नो काँधमा आएको बताउनुभयो। उहाँले सामाजिक सञ्जालको क्षणिक प्रभावमा नपर्न आग्रह गर्दै अहिलेको काँग्रेस परिपक्व नेतृत्वमा अघि बढिरहेको उल्लेख गर्नुभयो।
भट्टराईले पार्टीका सभापति गगन थापा अब प्रधानमन्त्री बन्ने तयारीमा रहेको दाबी गर्दै संकटका बेला काम गर्न सक्ने परिपक्व पार्टी काँग्रेस नै भएको जिकिर गर्नुभयो।

व्यास–७ बानियाँ गाउँमा आयोजित कार्यक्रममा स्थानीय नवराज बानियाँले गोविन्द भट्टराई केवल उम्मेदवार मात्र नभई राष्ट्रपतिको उत्तराधिकारी र केन्द्रीय राजनीतिको ‘मियो’ भएको धारणा राख्नुभयो। उहाँले युवा नेताहरू विश्वप्रकाश शर्मा र गगन थापालाई राजनीतिमा स्थापित गर्न भट्टराईको महत्वपूर्ण योगदान रहेको स्मरण गर्नुभयो।
त्यस्तै, नेपाली काँग्रेस व्यास–७ का वडा सचिव विनोद गोशलीले रामचन्द्र पौडेल पछिको तनहुँको राजनीतिक रिक्तता पूर्ति गर्ने विकासप्रेमी नेता भट्टराई नै भएको दाबी गर्नुभयो।

विकासका एजेन्डा अघि सार्दै
कार्यक्रममा युवा नेता नविनराज पौडेलले विकास आयोजनाको फेहरिस्त प्रस्तुत गर्दै रिस्ती–पाउँदी करिडोरका लागि १६ करोड रुपैयाँ विनियोजन भएको र स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न हुन लागेको जानकारी दिनुभयो। विपक्षीको “केही भएन” भन्ने आरोपको खण्डन गर्दै विगतमा ८० प्रतिशत मत पाएको काँग्रेसले यसपटक ९० प्रतिशत मत ल्याएर भट्टराईलाई विजयी गराउने उद्घोष गरिएको बताइयो।
रिस्तीका मतदाताहरूले पनि राष्ट्रपतिको गाउँको साख जोगाउन तथा विकासको लहरलाई निरन्तरता दिन भट्टराईलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका छन्

।
























