व्यास–५ पराेपकार जेष्ठ नागरिक आश्रममा स्वस्तिका श्रेष्ठद्वारा जन्मदिनको अवसरमा सहयोग

व्यास–३ सफासडक निवासी स्वस्तिका श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा फजुल खर्च नगरी सामाजिक सेवामा समर्पित हुने उदाहरण प्रस्तुत गरेकी छन्। उनले व्यास–५ पाटनस्थित जेष्ठ नागरिक आश्रममा पुगेर खाद्यान्न सामग्री तथा नगद १,५५५ रुपैयाँ सहयोग गरेकी हुन्।


जन्मदिनलाई मनोरञ्जन र व्यक्तिगत उत्सवमा सीमित नगरी समाजका बृद्ध बुवा–आमासँग साट्ने उद्देश्यले उनी आश्रम पुगेकी थिइन्। त्यहाँ रहेका जेष्ठ नागरिकहरूलाई खाना तथा खाजा खुवाउने उद्धेश्यका साथ उक्त सामाग्री हस्तान्तरण गरेर आफ्नो जन्मदिन मनाएकी हुन्। आश्रमका बुवाआमाहरूले उनको यस कार्यप्रति खुशी व्यक्त गरेका थिए।
स्वस्तिकाका पिता तथा सफासडकमा रहेको ‘विन्दु फेन्सी’का सञ्चालक विन्दुकुमार श्रेष्ठले चामल, फ्रुटी, भुजा, बिस्कुट, आटा लगायतका खाद्यान्न सामग्री सहयोग गरेकाे जानकारी दिए । आमा सुशीला श्रेष्ठसहित परिवारकै सक्रिय सहभागितामा सहयोग कार्यक्रम सम्पन्न भएको हो।
परिवारले सामाजिक उत्तरदायित्वको भावना र मानवीय सेवाको भावनाबाट प्रेरित भई सहयोग गरिएको बताएका छन्। “जन्मदिनलाई केवल व्यक्तिगत खुशीमा सीमित नराखी समाजका लागि केही गर्ने सोचका साथ आश्रममा सहयोग गरेका हौं,” श्रेष्ठले बताए।
यसअघि पनि स्वस्तिकाले जन्मदिनका अवसरमा विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएकी छन्। सामाजिक सेवाप्रति उनको निरन्तर चासो र सक्रियताले युवापुस्तालाई सकारात्मक सन्देश दिएको छ ।
आश्रमका अध्यक्ष तारानाथ घिमिरेले स्वस्तिका श्रेष्ठ र उनको परिवारप्रति आभार व्यक्त गर्दै यस्ता कार्यले समाजमा सकारात्मक सन्देश फैलाउने बताए। उनले अन्य युवालाई पनि यस्ता पुण्य कार्यमा सहभागी हुन आग्रह गर्दै जन्मदिनको शुभकामना व्यक्त गरे ।

जन्मदिनलाई समाजसेवासँग जोड्ने स्वस्तिका श्रेष्ठको कदमले सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाको सन्देश प्रवाह गरेको छ।

























