तनहुँमा महिलाकै कमान्डमा ‘नमुना मतदान केन्द्र’: तयारी पूरा

तनहुँमा महिलाकै कमान्डमा ‘नमुना मतदान केन्द्र’: तयारी पूरा

तनहुँ, फागुन २० गते ,आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि तनहुँको एक मतदान केन्द्रलाई पूर्ण रूपमा महिला कर्मचारीको नेतृत्वमा ‘नमुना केन्द्र’ का रूपमा सञ्चालन गरिने भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सदरमुकाम दमौलीस्थित सत्यवती माध्यमिक विद्यालयको ‘ख’ मतदान केन्द्रलाई नमुनाका रूपमा विकास गर्दै त्यहाँको सम्पूर्ण जिम्मेवारी महिला जनशक्तिलाई सुम्पेको हो। जिल्ला निर्वाचन कार्यालयका अनुसार यस केन्द्रमा खटिने मतदान अधिकृतदेखि सुरक्षाकर्मीसम्म सबै महिला नै रहनेछन्।

जिल्ला निर्वाचन अधिकारी विकास लम्सालका अनुसार ९८० जना मतदाता रहेको यस विशेष केन्द्रको नेतृत्व जिल्ला प्रशासन कार्यालयकी प्रशासकीय अधिकृत सिर्जना रेग्मीले सम्हाल्नुहुनेछ। मतदान प्रक्रियालाई थप व्यवस्थित, मर्यादित र उदाहरणीय बनाउने उद्देश्यले जिल्लाभरका ३११ केन्द्रमध्ये यसलाई नमुनाका रूपमा छनोट गरिएको हो। यस टोलीमा सहायक मतदान अधिकृतका रूपमा आन्तरिक राजस्व कार्यालयकी नायव सुब्बा राधा भण्डारी रहनुहुनेछ भने सहायक कर्मचारीहरूमा मिनाकुमारी थापा, सरीता ढकाल र रामकला पन्थ तथा सहयोगीमा मञ्जु थापा खटिनुहुनेछ।

नमुना केन्द्रकी प्रमुख रेग्मीले आफूलाई दिइएको यो जिम्मेवारीलाई निष्पक्ष र प्रभावकारी रूपमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। मतदान केन्द्रको आन्तरिक व्यवस्थापनदेखि सुरक्षाको कमान्डसम्म महिलाले नै सम्हाल्ने गरी सबै तयारी पूरा भइसकेको छ। जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी डोलराम शर्माका अनुसार निर्वाचनका लागि आवश्यक मतपत्र र अन्य सामग्रीहरू सुरक्षित रूपमा केन्द्रमा पुगिसकेका छन्। यसपटक तनहुँका १४४ मतदान स्थल र ३०९ स्थायी मतदान केन्द्रमा कुल २ लाख ५४ हजार ३९७ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page