तनहुँ–२ : रास्वपाका न्यौपानेकाे १२ हजारकाे अग्रता , जीततर्फ उन्मुख
तनहुँ – प्रतिनिधि सभा निर्वाचन–२०८२ अन्तर्गत तनहुँ क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार इन्जिनियर श्रीराम न्यौपानेले निरन्तर अग्रता बनाउँदै जीततर्फ उन्मुख देखिनुभएको छ।
मतगणनाको पछिल्लो रिपोर्ट अनुसार न्यौपानेले २२,२८१ मत प्राप्त गर्नुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार एवं निवर्तमान सांसद शंकर भण्डारीले ९,९२७ मत पाउनुभएको छ। यसरी न्यौपाने र भण्डारीबीचको मतान्तर करिब १२ हजार पुगेको छ।
तेस्रो स्थानमा नेकपा (एमाले) का उम्मेदवार केदार सिग्देल ७,२६० मतका साथ छन्। जिल्ला निर्वाचन अधिकृत विकास लम्सालका अनुसार यस क्षेत्रमा कुल १,२७,५१५ मतदाता छन्, जसमा ६६,६९८ मत खसेको थियो।

हालसम्मको परिणामले न्यौपानेले सुरुवातीदेखि नै निरन्तर अग्रता कायम गरेको देखाउँछ। शुक्लागण्डकी क्षेत्रको मतगणना बाँकी रहेकाले अन्तिम नतिजा सबै मत गणना पश्चात् औपचारिक रूपमा घोषणा हुनेछ।


























