मगर विद्यार्थी संघको स्थापना दिवसमा जेहेनदार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
तनहुँ, फागुन २७ — नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति तनहुँले नेपाल मगर विद्यार्थी संघको ३१औँ स्थापना दिवसको अवसरमा व्यास नगरपालिका–५ स्थित श्री पराशर माध्यमिक विद्यालयमा अध्ययनरत ६ जना जेहेनदार विद्यार्थीलाई पोशाक, झोला तथा विभिन्न शैक्षिक सामग्री वितरण गरेको छ।
“सम्पूर्ण मगर विद्यार्थी एक हौँ, शैक्षिक जागरण फैलाऔँ” भन्ने नारासहित आयोजित कार्यक्रममा संघका अध्यक्ष विजय थापाले स्थापना दिवसको औचित्यबारे प्रकाश पार्दै विद्यार्थीहरूको शैक्षिक उन्नतिका लागि संघले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो।

कार्यक्रममा संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष बुद्ध गर्जा मगर र विद्यालय व्यवस्थापन समिति अध्यक्ष हिरा थापा मगरले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। विद्यालयका प्रधानाध्यापक रामदत्त पौडेलले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा शिक्षक शम्भुलाल थापाले सञ्चालन गर्नुभएको थियो।


























