भारी मतको विश्वाससहित सांसद न्याैपाने स्थानीय सँग भेटघाट गरि काठमाडौं पुगे
काठमाडौं — तनहुँ क्षेत्र नं. २ बाट ३२ हजार ६८७ मतको समर्थनसहित निर्वाचित सांसद इन्जिनियर श्रीराम न्याैपाने आफ्नो संसदीय जिम्मेवारी सम्हाल्न काठमाडौं पुगेका छन्। निर्वाचनपछि यस क्षेत्रका सबै पालिकाका विभिन्न स्थानमा आयोजित धन्यवाद तथा भेटघाट कार्यक्रममार्फत उनले जनताको विश्वासलाई सेवा र उत्तरदायित्वका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
रिसिङ, घिरिङ, भिमाद, शुक्लागण्डकी, म्याग्दे र व्यास लगायतका क्षेत्रमा करिब ६० वटा सामूहिक भेटघाट तथा धन्यवाद कार्यक्रम सम्पन्न भएका र ती कार्यक्रममा कतै पञ्चेबाजाको गुञ्जन, कतै केक काटेर उत्सव तथा कतै कुमाल संस्कृतिको बाजागाजा र नाचगानसहित जनताले उत्साहपूर्ण स्वागत गरेका उनलेे उल्लेख गरेका छन् ।
सांसद न्याैपानेले जनताले दिएको विश्वासलाई परिवर्तनको जिम्मेवारीका रूपमा लिएको उल्लेख गर्दै अब हरेक तीन महिनामा तनहुँ–२ का सबै पालिकामा ‘जनसंवाद कार्यक्रम’ सञ्चालन गर्ने घोषणा गरेका छन्। उक्त कार्यक्रममा नागरिकका गुनासा, सुझाव र समस्या प्रत्यक्ष रूपमा सुन्ने तथा आफूले र सरकारले गरेका कामहरूको त्रैमासिक प्रगति विवरण सार्वजनिक गर्ने उनले बताए।
त्यस्तै, जनताले तिरेको करबाट सांसदले पाउने नगद सुविधालाई पनि हरेक तीन महिनामा तनहुँ–२ का जनताकै हितमा खर्च गर्ने कार्यक्रम ल्याइने उनले जानकारी दिए। उक्त रकम विद्यालय, बालबालिका, असहाय तथा अपाङ्ग नागरिकको हितमा पूर्ण पारदर्शिताका साथ प्रयोग गरिने जनाइएको छ।

सांसदले जनताको समस्या समाधानका लागि व्यक्तिगत पहल गर्ने, तीनै तहका सरकारसँग समन्वय गर्ने तथा आवश्यक परे संसदमा आवाज उठाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। उनले आफ्नो यात्रालाई सत्ता प्राप्तिको भन्दा सेवा, सुशासन र जनउत्तरदायित्वको अभियानका रूपमा अघि बढाउने बताएका छन्।


























