पाँचौं शुक्लागण्डकी महोत्सव आजदेखि सुरु ,सांसद न्याैपानेले उद्घाटन गर्ने
तनहुँ – शुक्लागण्डकी महोत्सवको पाँचौं संस्करण आजदेखि शुरु हुँदैछ। महोत्सवको उद्घाटन समारोह आज दिउँसो १ बजे तनहुँ–२ का सांसद इन्जिनियर श्रीराम न्यौपानेले भव्य कार्यक्रमबीच गर्नेछन्। महोत्सव बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको खुल्ला चौरमा आयोजना गरिएको छ।
शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघद्वारा आयोजना गरिएको महोत्सवको उद्घाटन समारोहअघि विभिन्न संघसंस्था, आमा समूह र जातजातिहरूकाे झाँकीसहितको र्याली निकालिने भएको छ। उक्त अवसरमा उत्कृष्ट झाँकीलाई पुरस्कृत गर्ने कार्यक्रम पनि राखिएको छ।
महोत्सवको मुख्य उद्देश्य “आर्थिक, सामाजिक तथा खेलकुद विकास, कृषि तथा पर्यटन प्रवर्द्धन र कला–संस्कृतिको संरक्षण” रहेको छ। महोत्सव चैत १७ गतेसम्म सञ्चालन हुनेछ।

यस महोत्सवमा १ सय ७५ वटा स्टल रहनेछन्, जसमा घरेलु उत्पादन, कृषि, व्यवसायिक, रेष्टुरेन्ट र सामाजिक संस्थाका स्टलहरू समावेश छन्। महोत्सव अवधिमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू, जस्तै: राष्ट्रीय र स्थानीय कलाकारहरूको प्रस्तुति, लाईभ कन्सर्ट, बाल उद्यान, पदयात्रा, भलिबल प्रतियोगिता, रत्यौली, कौरा नृत्य, र विद्यालयस्तरीय नृत्य प्रतियोगिता पनि सञ्चालन हुनेछन्। यसपटक विशेष गरी महाेत्सवमा टिकटक र रिल्स प्रतियोगिता पनि समावेश गरिएको छ।
आयोजकले महोत्सव अवधिभर करिब २ लाख दर्शक भित्र्याउने लक्ष्य राखेका छन् भने यस महोत्सवको कुल खर्च ७५ लाख रुपैयाँ आसपास हुने अनुमान गरिएको छ। महोत्सवले स्थानिय व्यापार र उत्पादनको प्रचारमा सघाउँने अपेक्षासहित पर्यटन प्रवर्द्धनमा पनि टेवा पुर्याउने अपेक्षा गरिएको छ।


























