खाद्य पदार्थमा स्वच्छता र प्रतिजैविक प्रतिरोध (AMR): सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

खाद्य पदार्थमा स्वच्छता र प्रतिजैविक प्रतिरोध (AMR): सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

“खाद्य पदार्थमा स्वच्छता, विज्ञानको अपरिहार्यता र Antimicrobial Resistance (AMR) सम्बन्धी सचेतना कार्यक्रम” शुक्रबार व्यास ११ रानिगाउँमा सम्पन्न भएको छ। खाद्य सुरक्षा र स्वास्थ्यका लागि अत्यन्त महत्त्वपूर्ण विषय AMR अर्थात् प्रतिजैविक प्रतिरोधका बारेमा जनचेतना फैलाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो।


कार्यक्रममा प्रमुख अतिथि तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले खाद्य सुरक्षा तथा जनस्वास्थ्यको महत्व र यसमा गरिएको प्रयासको बारेमा प्रशंसा व्यक्त गरे। उनले AMR को सम्बन्धमा सचेतना फैलाउने यो कार्यक्रम गम्भीर र जटिल स्वास्थ्य समस्याका बारेमा जानकारी प्रदान गर्नका लागि विशेष बन्ने बताए।
कार्यक्रममा वरिष्ठ खाद्य अनुसन्धान अधिकृत, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका प्रमुख विजन श्रेष्ठले आगामी दिनमा AMR का सम्बन्धमा अझ सशक्त अनुगमन र सुधारका कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले यस विषयमा अझ बढी कार्य गर्न आवश्यक रहेको र व्यवसायी, कृषक र खाद्य क्षेत्रका अन्य प्रतिनिधिहरूलाई जिम्मेवार र वैज्ञानिक दृष्टिकोण अपनाउन प्रेरित गर्ने कुरामा जोड दिए।
कार्यक्रममा भेटेरिनरी अस्पताल तनहुँका प्रमुख रविनसन अधिकारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका प्रमुख ज्योती आचार्य, तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष तुलसीराम सापकोटा, होटल व्यवसायी संघ गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष दुर्गा बिलास भट्टराई लगायतका प्रमुख व्यक्तिहरुको सहभागिता रहेको थियो।
कार्यक्रममा AMR र खाद्य पदार्थको स्वच्छता विषयमा विभिन्न पहल र उपायहरू प्रस्तुत गरिएका थिए। भेटेरिनरी अस्पतालका प्रमुख रविनसन अधिकारीले AMR अर्थात् प्रतिजैविक प्रतिरोधको बारेमा थप जानकारी दिँदै भने, “आजको दिनमा एण्टिबायोटिक, एण्टिप्यारासिट, एण्टिभाइरस जस्ता औषधिहरुको अत्यधिक र अनावश्यक प्रयोगले AMR को समस्या दिन प्रतिदिन बढाउँदै लगेको छ। यदि यो समस्या सुल्झ्याइएन भने, भविष्यमा विभिन्न रोगहरुको उपचारमा गंभीर समस्या आउन सक्छ।” अधिकारीका अनुसार, अनावश्यक र अत्यधिक औषधिको प्रयोगले प्रतिरोध जनाउने र औषधिहरु बेकार बनाउने जोखिम हुन्छ, जसले स्वास्थ्य क्षेत्रमा ठूलो संकट निम्त्याउन सक्छ।
कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका प्रमुख ज्योती आचार्यले “खाद्य सामग्रीको गुणस्तर र स्वच्छता कायम राख्नका लागि अनुगमन र निगरानी अत्यन्तै महत्त्वपूर्ण रहेको बताए। यसका लागि विज्ञान र प्राविधिक उपायहरूको प्रयोग गर्नु आवश्यक छ।” उनले खाद्य पदार्थहरूको उत्पादन र वितरण प्रक्रियामा AMR को जोखिम न्यून गर्नका लागि अवलोकन र निगरानीलाई बलियो बनाउनु पर्नेमा जोड दिए।

कार्यक्रममा तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष तुलसीराम सापकोटा लगायतका सहभागिहरूले प्रतिजैविक औषधिहरूको दुरुपयोग र यसका खतराका बारेमा सुझाएका थिए। सापकोटाले भने, “प्रतिजैविक औषधिहरुका दुरुपयोगले हाम्रो व्यवसाय र स्वास्थ्यलाई प्रत्यक्ष असर पुर्याउँछ। यस प्रकारका कार्यक्रमले ठूलो सहयोग पुर्याउँछ।”
कार्यक्रममा आयोजकहरूले भविष्यमा अत्याधुनिक मोबाइल भ्यान सहितको अनुगमन प्रणालीको प्रयोग गर्ने योजना पनि प्रस्तुत गरे। यस प्रणालीले खाद्य सुरक्षा र AMR सम्बन्धी निगरानीलाई अझ प्रभावकारी बनाउने आशा गरिएको छ।


खाद्य पदार्थमा स्वच्छता र प्रतिजैविक प्रतिरोधको जोखिम कम गर्दै, दीर्घकालीन स्वास्थ्य समस्याबाट बच्नका लागि जागरूकता फैलाउनु कार्यक्रमकाे मुख्य उद्धेश्य रहेको थियो । यसले खाद्य व्यवसायी, कृषि उत्पादक र अन्य उद्योगका प्रतिनिधिहरूलाई जिम्मेवार र वैज्ञानिक दृष्टिकोण अपनाउन प्रेरित गर्ने अपेक्षा गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page