ऋषिङ्गमा दोस्रो राष्ट्रिय मौलिक कोराहा सम्मेलन हुँदै

ऋषिङ्गमा दोस्रो राष्ट्रिय मौलिक कोराहा सम्मेलन हुँदै


तनहुँ — नेपाल मगर सांस्कृतिक संघ, केन्द्रीय समितिको आयोजनामा “दोस्रो राष्ट्रिय मौलिक कोराहा सम्मेलन–२०८३” आयोजना हुने भएको छ। मगर समुदायको मौलिक कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले उक्त सम्मेलन गर्न लागिएको हो।
सम्मेलन २०८३ साल वैशाख ४ र ५ गते तनहुँ जिल्लाको ऋषिङ गाउँपालिका–१, काफलटार (झापुटार) मा सञ्चालन हुने आयोजकले जनाएको छ। कार्यक्रममा राष्ट्रिय मौलिक कोराहा संरक्षण समिति नेपाल र नेपाल मगर संघ जिल्ला समन्वय समिति तनहुँले सह–आयोजनाको भूमिका निर्वाह गर्नेछन्।
त्यसैगरी, नेपाल मगर सांस्कृतिक संघ गण्डकी प्रदेश, नेपाल मगर संघ तनहुँ–काठमाडौं सम्पर्क समिति तथा नेपाल मगर सांस्कृतिक संघ जिल्ला कार्यसमिति तनहुँ व्यवस्थापनमा संलग्न रहनेछन्।
आयोजकका अनुसार सम्मेलनमा देशभरबाट मगर समुदायका कलाकार, संस्कृतिकर्मी तथा सरोकारवालाहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यक्रममा मगर समुदायको मौलिक ‘कोराहा’ नृत्य तथा गीत प्रस्तुत गरिनुका साथै यसको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणका विषयमा छलफल गरिनेछ।
कोराहा विशेषगरी ‘६ क’ — कहिले गाउने, कसरी गाउने, कति गाउने, कहाँ गाउने, कसरी नाच्ने/नचाउने र कसरी बजाउने — सँग सम्बन्धित रहेको बताइएको छ। मौलिक लय, भाका र शब्दसहितको कोराहा परम्परा पछिल्लो समय उचित ज्ञान अभावका कारण लोपोन्मुख बन्दै गएको भन्दै यसको संरक्षण आवश्यक रहेको आयोजकले उल्लेख गरेको छ।
उद्घाटन सत्रका दिन १५०० जना सहभागीले एकैसाथ कोराहा नाच्ने तथा ५०० जनाले सामूहिक रूपमा गाउने, बजाउने र नचाउने कार्यक्रममार्फत नयाँ कीर्तिमान कायम गर्ने लक्ष्य राखिएको छ।


मगर नेता सिद्धान्त थापा मगरका अनुसार सम्मेलन सफल बनाउन देशभरका गाउँ, टोल, वडा, पालिका तथा जिल्लाबाट मौलिक मगर कोराहा नाच, परम्परागत भेषभूषा र खैँजडीसहित उपस्थित भई आर्थिक, नैतिक तथा भौतिक सहयोग गर्न अनुरोध गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page