स्वर्णिम वाग्लेले बन्दीपुरमा घर किने, ‘टुरिस्ट नेता’ आरोपलाई व्यवहारिक जवाफ

स्वर्णिम वाग्लेले बन्दीपुरमा घर किने, ‘टुरिस्ट नेता’ आरोपलाई व्यवहारिक जवाफ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति तथा तनहुँ क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्ले अन्ततः तनहुँकै स्थायी बासिन्दा भएका छन्। उनले बन्दीपुर गाउँपालिका–४ स्थित कित्ता नं. ३४९ (ख) मा रहेको घर–जग्गा खरिद गरी सोमबार जिल्ला मालपोत कार्यालयमा विधिवत् नामसारी गरेका हुन्।
यस कदमसँगै विगतमा उनीमाथि लाग्दै आएको “टुरिस्ट नेता” को आरोपलाई व्यवहारमै जवाफ दिने प्रयास भएको रूपमा हेरिएको छ। चुनावी अभियानका क्रममा बाहिरबाट मात्र आउने र स्थानीयसँग स्थायी सम्बन्ध नजोडेको भन्ने आलोचना खेप्दै आएका वाग्लेले अब बन्दीपुरमै घर किनेर बसोबासको आधार बनाएका छन्।
ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण बन्दीपुरमा घर किन्नुले वाग्लेले स्थानीय जनजीवनसँग दीर्घकालीन सम्बन्ध गाँस्ने संकेत दिएको जिल्लाबासिकाे भनाइ छ। यसले “अब बाहिरको होइन, आफ्नै गाउँको प्रतिनिधि” भन्ने मनोवैज्ञानिक विश्वास स्थानीयस्तरमा बलियो हुने अपेक्षा गरिएको छ।
गत प्रतिनिधिसभा निर्वाचनमा तनहुँ–१ बाट विजयी हुँदा वाग्लेको उम्मेदवारी निकै चर्चामा थियो। अर्थशास्त्री तथा नीतिनिर्माणमा लामो अनुभव भएका उनीप्रति एकातिर बौद्धिक छवि र परिवर्तनको आशा जोडिएको थियो भने अर्कोतर्फ “स्थानीय जरा कमजोर” भएको आलोचना पनि चर्को थियो।
हाल केन्द्रीय राजनीतिमा समेत वाग्लेको भूमिका बढ्दो छ। उनी सम्भावित अर्थमन्त्रीका रूपमा चर्चामा छन्। राजनीतिक समीकरण अनुकूल भएमा अर्थ मन्त्रालय सम्हाल्न सक्ने नेतामध्ये वाग्ले अग्रपंक्तिमा रहेका छन् ।

बन्दीपुरमा घर खरिदलाई स्थानीय बासिन्दाले सकारात्मक संकेतका रूपमा लिँदै दीर्घकालीन बसोबास र विकासमा सक्रिय संलग्नता बढ्ने अपेक्षा गरेका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page