आदिकवि भानुभक्त क्याम्पसमा जलवायु सम्बन्धी टिकटक भिडियो प्रतियोगिताको मूल्याङ्कन सम्पन्न

आदिकवि भानुभक्त क्याम्पसमा जलवायु सम्बन्धी टिकटक भिडियो प्रतियोगिताको मूल्याङ्कन सम्पन्न

आदिकवि भानुभक्त क्याम्पसको विज्ञान तथा प्रविधि विभागले आयोजना गरेको जलवायु सम्बन्धी टिकटक भिडियो प्रतियोगिताको मूल्याङ्कन समितिको बैठक मङ्गलबार साँझ क्याम्पसको बैठक कक्षमा सम्पन्न भएको छ।
प्रतियोगितामा स्नातक तहका विद्यार्थीहरूले “फेरिँदो पर्यावरण, मेटिँदो पहिचान र अग्रजको अनुभव” शीर्षकमा भिडियो निर्माण गरेका थिए। सहभागी विद्यार्थीहरूले आफ्ना अग्रज वा परिवारसँग अन्तर्वार्ता गरी वरपरको प्राकृतिक वातावरण र जीवनशैलीमा आएको परिवर्तन समेटेका थिए। भिडियोहरू ९० सेकेन्डदेखि ३ मिनेटसम्मको भएको र एकल वा दुई जनाको समूहमा बनाइएका थिए।
मूल्याङ्कन समितिले भिडियोका विषयवस्तुको सान्दर्भिकता, पुस्तान्तरण संवादको प्रभावकारिता, सिर्जनशीलता, सम्पादन कला तथा सामाजिक सन्देशलाई आधार बनाएर प्रथम, द्वितीय र तृतीय हुने भिडियोहरू चयन गरेको जनाइएको छ। प्रतियोगितामा पुरस्कारस्वरूप क्रमशः पाँच हजार, तीन हजार र दुई हजार नगद र प्रमाणपत्र प्रदान गरिने क्याम्पस प्रशासनले जनाएको छ।


प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय हुने भिडियो निर्माता विवरण बुधबार सार्वजनिक गरिनेछ।
प्रतियोगितामा समिति संयोजक: क्याम्पस प्रमुख महाप्रसाद हड्खले तथा सदस्यहरूमा सहायक क्याम्पस प्रमुख डा. रामकुमार अधिकारी, विज्ञान तथा प्रविधि विभाग प्रमुख सागर न्यौपाने, निवर्तमान प्रमुख राजन घिमिरे, इआइएमएस अधिकृत गौरव पन्थ लगायत रहेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page