एमाले तनहुँमा ‘पहिरो’ : प्रभावशाली नेताहरू रास्वपामा प्रवेश , थप केही प्रवेशकाे तयारीमा !
नेकपा (एमाले) तनहुँमा संगठनात्मक रूपमा ठूलो धक्का लागेको छ। लामो समयदेखि जिल्लामा सक्रिय तथा प्रभावशाली मानिएका नेता वीरेन्द्रबहादुर अधिकारी लगायतका नेताहरूले पार्टी परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्। एकैपटक जिल्ला र स्थानीय तहमा प्रभाव राख्ने नेताहरू बाहिरिँदा एमालेभित्र ‘पहिरो’ गएको चर्चा राजनीतिक वृत्तमा तीव्र बनेको छ।

एमाले तनहुँ विगतदेखि बलियो संगठनका रूपमा चिनिँदै आए पनि पछिल्लो समय आन्तरिक असन्तुष्टि, नेतृत्वप्रति असन्तोष र वैकल्पिक शक्तिप्रतिको आकर्षण बढ्दै गएको थियो। सोही पृष्ठभूमिमा यी नेताहरूको बहिर्गमनलाई धेरैले ‘टर्निङ पोइन्ट’ का रूपमा विश्लेषण गरेका छन्। संगठन विस्तार, सदस्यता अभियान र निर्वाचन व्यवस्थापनमा सक्रिय नेताहरूको बहिर्गमनले आगामी रणनीतिमा प्रत्यक्ष असर पार्ने देखिएको छ।

रास्वपा प्रवेश गर्नेहरूमा एमालेका जिल्ला कमिटी सदस्य वीरेन्द्रबहादुर अधिकारीको नेतृत्वमा व्यास–११ का केही कार्यकर्ता रहेका छन्। अधिकारी यसअघि एमाले व्यास नगर कमिटीका लामो समय अध्यक्षसमेत रहेका थिए।
त्यस्तै, तत्कालीन नेकपा (एकीकृत समाजवादी) पृष्ठभूमिका जिल्ला सचिवालय सदस्य गजेन्द्रराज पन्थ, बुद्धिजीवी फाँटका नेता विष्णुबहादुर खड्का, जिल्ला कमिटी सदस्य विष्णुकुमार श्रेष्ठ, हेमबहादुर थापा लगायत १० भन्दा बढी नेता–कार्यकर्ता पनि रास्वपामा प्रवेश गरेका छन्।
यद्यपि कार्यक्रममा १२५ जना कार्यकर्ता प्रवेश गर्ने भनिए पनि अधिकारीसहित सीमित संख्यामा मात्रै उपस्थित भएका थिए। अन्य कार्यकर्तालाई छुट्टै कार्यक्रममार्फत प्रवेश गराइने जनाइएको छ। केही नाम सार्वजनिक गरिए पनि उनीहरू कार्यक्रममा उपस्थित नभएको पनि उल्लेख गरिएको छ।
नवप्रवेशी नेताहरूले परम्परागत दलहरू जनअपेक्षा अनुसार चल्न नसकेको, नेतृत्वमा नविनताको अभाव रहेको तथा पारदर्शिता र उत्तरदायित्व कमजोर भएको आरोप लगाउँदै वैकल्पिक शक्तिका रूपमा रास्वपा रोजेको बताएका छन्।
त्यस्तै, पूर्व नेकपा (एकीकृत समाजवादी) समूहका नेताहरूले पार्टी एकतापछि आफूहरू उपेक्षित भएको अनुभूति भएपछि नयाँ राजनीतिक विकल्प खोजेको बताएका छन्।
पार्टी प्रवेश कार्यक्रममा रास्वपा तनहुँका सभापति विश्व बास्तोलाले देश परिवर्तनको अभियानमा साथ दिन आएका नेताहरूलाई स्वागत गर्दै उनीहरूलाई योग्यताअनुसार जिम्मेवारी दिइने बताएका छन्। कार्यक्रमको सञ्चालन व्यास नगर समितिका सभापति चुडामणी दाहालले गरेका थिए।
स्रोतका अनुसार, छिट्टै रास्वपाका शीर्ष नेताको उपस्थितिमा थप प्रभावशाली नेताहरू पनि पार्टी प्रवेश गर्ने तयारीमा छन्। ती नेताहरू विगतमा एमाले तथा अन्य कम्युनिष्ट धारका विभिन्न जिम्मेवारीमा रहेका अनुभवी व्यक्तिहरू भएको बताइएको छ।


























