“प्रिय बालेनदेखि प्रधानमन्त्रीसम्म: अब समर्थन होइन, खबरदारी”

“प्रिय बालेनदेखि प्रधानमन्त्रीसम्म: अब समर्थन होइन, खबरदारी”


प्रिय सम्माननीय प्रधानमन्त्रीज्यू,
आजदेखि म जस्ता हजारौँ युवाले “प्रिय बालेन” भन्ने भावनात्मक सम्बोधनलाई जिम्मेवार “प्रधानमन्त्री” प्रति खबरदारीमा रूपान्तरण गरेका छौँ। आजसम्म दिएको साथ, समर्थन र माया अब तपाईंको कामको मूल्याङ्कन र उत्तरदायित्वमा केन्द्रित हुनेछ।
हामी आशा गर्छौँ—Gen Z आन्दोलनका क्रममा सडकमा बगेको रगत, त्याग र बलिदान कहिल्यै खेर जाने छैन। उत्पादनमुखी देश निर्माण होस्, देशमै उद्योग–कलकारखाना फस्टाओस्, मध्यमवर्गीय आर्थिक अवस्था मजबुत बनोस् र लाखौँ नेपाली युवाहरू विदेशिन बाध्य नहून्—यही हाम्रो साझा सपना हो।
कर्मचारीतन्त्रको जटिल जालो चिरेर, भ्रष्टाचारविरुद्ध कडा कदम चाल्दै, नागरिकले वडा कार्यालयदेखि मन्त्रालयसम्म सहज, छिटो र प्रभावकारी सेवा पाउने वातावरण निर्माण होस्।
महाकाली, वाइडबडी, भुटानी शरणार्थी, क्यान्टोन्मेन्ट, ललिता निवास, गिरिबन्धु, बालमन्दिर जग्गा जस्ता बहुचर्चित प्रकरणका फाइलहरू पुनः खोलिउन्। दोषी जोसुकै किन नहोस्—पूर्वप्रधानमन्त्री नै भए पनि कानुनअनुसार कारबाही होस्, ताकि नेपालमा राजनीति सेवाका लागि गरिन्छ भन्ने नयाँ मानक स्थापित होस्।
अन्त्यमा—पहिलो १०० दिनभित्र सहकारी पीडितहरूको रकम फिर्ता, सहकारी घोटालाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाही हुनेछ भन्ने अपेक्षा सम्पूर्ण नेपाली जनतामा छ। आगामी राजनीतिक विश्वास पनि यही कार्यसम्पादनमा आधारित हुनेछ।

राष्ट्रियताको सवालमा अडिग, निडर र जनमुखी नेतृत्वको अपेक्षासहित—
सम्पूर्ण शुभकामना।
बालेन समर्थक युवा
म्याग्दे–१, तनहुँ
अनिल अधिकारी

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page