सहिद बुद्धसिंह रानाकी छोरी लक्ष्मी राना सम्मानित
तनहुँको व्यास नगरपालिका–१ भादगाउँमा आयोजित एक विशेष समारोहमा सहिद बुद्धसिंह रानाकी छोरी लक्ष्मी राना आलेलाई सम्मान गरिएको छ। मगर समाज सुधार समिति, भादगाउँको आयोजनामा सम्पन्न शालिक अनावरण तथा भुँयार पूजा कार्यक्रमका अवसरमा उनलाई कदरपत्र सहित दाेसल्ला ओढाएर सम्मान गरिएको हो।
वि.सं. २०१८ सालमा भरतपुरमा सहिद बुद्धसिंह रानाको हत्या भएको दिनमै लक्ष्मी रानाको जन्म भएको ऐतिहासिक संयोगलाई स्मरण गर्दै उनलाई विशेष रूपमा सम्मान गरिएको आयोजकले जनाएको छ। सहिदको बलिदान र उनको परिवारले भोगेको पीडालाई सम्मान गर्दै कार्यक्रममार्फत उनको योगदानलाई उजागर गरिएको थियो।

उक्त कार्यक्रममा सहिद बुद्धसिंह रानाको नाममा “बुद्धसिंह मार्ग” स्थापना गरिएको स्मरण गरिएको थियो , जसले उनको योगदानलाई दीर्घकालसम्म स्मरण गराउने विश्वास गरिएको छ।
मगर समाज सुधार समितिका अध्यक्ष इन्द्रबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा क्याप्टेन बलराम राना तथा विशिष्ट अतिथिका रूपमा व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेको उपस्थिति रहेको थियो।
कार्यक्रममा विभिन्न सामाजिक तथा राजनीतिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो भने वक्ताहरूले सहिदहरूको बलिदान र परिवारको योगदानलाई उच्च सम्मान व्यक्त गरेका थिए।


























