तनहुँमा ४७ एम्पुल लागूऔषधसहित कमल पक्राउ
तनहुँ, चैत २२ — तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ बेनिटारस्थित पृथ्वी राजमार्गमा सवारी चेकजाँचका क्रममा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।
अस्थायी प्रहरी पोस्ट मुग्लिन पुलजिप तनहुँबाट खटिएको चेकिङ टोलीले भैरहवाबाट पोखरातर्फ जाँदै गरेको लु. १ ख ८३२० नम्बरको यात्रुवाहक बसमा सवार एक युवकलाई शंकास्पद अवस्थामा जाँच गर्ने क्रममा पक्राउ गरेको हो।
पक्राउ पर्नेमा पर्वत जिल्ला जलजला गाउँपालिका वडा नं. ७ बासखर्क निवासी १९ वर्षीय कमल परियार रहेका छन्। उनले आफ्नै शरीरको पेटमा लुकाइछिपाइ ल्याएको अवस्थामा डाइजापाम १६ एम्पुल, फेनरगन १५ एम्पुल र बुप्रेनोर्फिन १६ एम्पुल गरी जम्मा ४७ एम्पुल नियन्त्रित लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ।

निजलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।


























