चैत ३० गते व्यास नगरपालिकाले ३४ औँ स्थापना दिवस मनाउने
दमौली, तनहुँ — व्यास नगरपालिकाले आगामी चैत ३० गते ३४ औँ स्थापना दिवस विविध कार्यक्रमसहित मनाउने निर्णय गरेको छ। नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न २३४ औँ कार्यपालिका बैठकले उक्त निर्णय गर्दै सो अवसरमा विभिन्न क्षेत्रका उत्कृष्ट व्यक्तित्वहरूलाई सम्मान गर्ने तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने जनाएको छ।
बैठकले गत २३३ औँ बैठकका निर्णयहरूको समीक्षा गर्नुका साथै नगरपालिकाको सेवा प्रवाह र दोस्रो चौमासिक सार्वजनिक सुनुवाइबाट प्राप्त सुझावहरूको मूल्याङ्कन गरेको छ।
नगरपालिकाका अनुसार चालु आर्थिक वर्षमा पूर्वाधार विकासतर्फ ८२ प्रतिशत प्रगति हासिल भएको छ। कुल ३७८ योजनामध्ये २३४ योजना सम्पन्न भइसकेका छन् भने केही योजना सम्पन्न हुने चरणमा र बाँकी योजनाहरू सम्झौता प्रक्रियामा रहेका छन्।
चालु आर्थिक वर्षका लागि नगरपालिकाको कुल बजेट रु १ अर्ब ६८ करोडभन्दा बढी रहेको उल्लेख गर्दै संघ, प्रदेश तथा राजस्व बाँडफाँडबाट प्राप्त आय र आन्तरिक आम्दानीमा वृद्धि भएको जानकारी दिइएको छ।
बैठकले कर्मचारीहरूको योगदानको कदर गर्दै धन्यवाद ज्ञापन गर्ने तथा आवश्यक सुविधा प्रदान गर्ने निर्णय पनि गरेको छ। यस्तै फोहोरमैला व्यवस्थापनका लागि दीर्घकालीन समाधान नभएसम्म वैकल्पिक स्थान खोजी गरी अस्थायी व्यवस्थापन गर्ने उल्लेख गरिएको छ।
त्यसैगरी, सार्वजनिक जग्गा संरक्षणसम्बन्धी विषयमा आवश्यक प्रक्रिया अघि बढाइने र व्यास नगरपालिकामा खुला भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरिएको छ। प्रतियोगितामा पुरुषतर्फ प्रथम पुरस्कार रु १ लाख र महिलातर्फ रु ५० हजार नगद राखिएको छ।

विपद् व्यवस्थापनलाई ध्यानमा राख्दै कुनै पनि आपतकालीन अवस्थामा सम्बन्धित वडा कार्यालय वा नगरपालिकामा तुरुन्त जानकारी गराउन नगरवासीलाई अनुरोध गरिएको छ।


























