दमौलीमा “प्रथम टाइगर ल्याण्ड नयाँ वर्ष महोत्सव” : चैत २७ गतेदेखि सुरु हुने
दमौलीमा आयोजना हुन लागेको “प्रथम टाइगर ल्याण्ड नयाँ वर्ष महोत्सव” अब चैत २७ गतेदेखि सुरु हुने भएको छ। व्यास नगरपालिका–४ स्थित सिमलटार–बागभञ्ज्याङ क्षेत्रमा सञ्चालन हुने उक्त दमौली सांस्कृतिक महोत्सव चैत २७ गते शुक्रबारदेखि बैशाख ८ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
यसअघि चैत २६ गतेदेखि सुरु गर्ने तयारी गरिएको भए पनि मौसमको प्रतिकूलता र तयारी अपूर्ण रहेकाले एक दिन पछि सारिएको क्लवका अध्यक्ष विपिन घलेले जानकारी दिए। उनका अनुसार महोत्सव स्थलमा स्टल निर्माण तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगे पनि मौसमले साथ नदिएकाले मिति परिवर्तन गरिएको हो।
महोत्सवमा सहभागी दर्शक तथा आगन्तुकलाई लक्षित गर्दै विविध आकर्षणहरू समेटिने तयारी गरिएको क्लवका सचिव उमेश पौडेलले बताए।
महोत्सवमा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मका लागि मनोरञ्जनका विभिन्न सामग्रीहरू रहनेछन्। बालउद्यान, रोटेपिङ, डुंगा (नाउ), ड्रागन लगायतका खेल सामग्री सञ्चालन गरिनेछ। साथै, स्थानीयदेखि राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकार तथा गायक–गायिकाको प्रस्तुति एउटै मञ्चबाट प्रस्तुत गरिने सचिव पाैडेलले जानकारी दिए ।

त्यसैगरी, महोत्सव अवधिभर सस्तो बजार सञ्चालन गरिनेछ, जसले स्थानीय उत्पादनको प्रवर्द्धन तथा व्यापार विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।


























